राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिईओ सुवास कोइराला र पुनर्बीमा प्रमुख सिर्जना पन्तको त्रुटीले एक अर्ब बढीको नोक्सान

११ पुष २०८१, बिहीबार ११:३७

काठमाडौं । नेपाल सरकार र सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीका उच्च पदस्थ दुई कर्मचारीको सामान्य त्रुटीका कारण सो कम्पनीमा एक अर्बभन्दा बढि नोक्सानीमा पर्ने निश्चित भएको छ । कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला र पुनर्बीमा विभागकी प्रमुख डा. सिर्जना पन्तका कारण कम्पनीलाई करिब एक अर्ब २५ करोड रुपैयाँ (अन्तिम गणना हुन बाँकी) नोक्सानी पुग्न गएको छ ।

हाल प्रतिकित्ता १६,२२० रुपैयाँमा शेयर कारोबार भइरहेको कम्पनीको रिजर्भ कोषबाट ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएका कारण आगामी केही वर्षसम्म माथि उठ्नै नसक्ने गरी थला पर्ने भएको छ । कम्पनीमा रहेको दुई अर्ब ३३ करोड जगेडा कोष र रामशाहपथमा रहेको जग्गा समेत रहेको आधारमा कम्पनीको शेयर मूल्य उच्च बिन्दुमा पुगेको थियो । तर अब कम्पनीको जगेडा कोषमा करिब ४० प्रतिशत नोक्सानी हुने निश्चित भएको छ ।

गत असोज १२ गते आएको भिषण बाढीको चपेटामा माथिल्लो तामाकोशी आयोजना परेको थियो । माथिल्लो तामाकोशी आयोजनाले राष्ट्रिय बीमा कम्पनीमा २०८० साल चैत्रतिर बीमा शुल्क बुझाएर बीमापोलिसी लिएको थियो । ५६ मेगावाटको सो आयोजनामा सुरुमा दुईभन्दा बढि क्षति भएको अनुमान गरिएको थियो । तर, पछि विस्तृत अध्ययनपछि अपर तामाकोशी परियाजनाले राष्ट्रिय बीमा कम्पनी समक्ष एक अर्ब ७८ करोड रुपैयाँ क्षति भएको प्रमाणसहित पेश गर्दै बीमा दावी भुक्तानी माग गरेको छ । आयोजना प्रमुख मोहन प्रसाद गौतमले भने, ‘सुरुमा अलि धेरै नै क्षति भएको भनिएको थियो तर हामीले प्राविधिक परिक्षणपछि एक अर्ब ७८ करोड रुपैयाँको दावी माग गरेका छौं ।’

तर, आश्चर्यको कुरा के छ भने बीमा पोलिसी काटेको सात महिनापछि बाढी गएको थियो । बाढी गएपछि मात्रै राष्ट्रिय बीमा कम्पनीमा पुनर्बीमाबारे खोजी सुरु हुन्छ । बिदेशी पुनर्बीमा कम्पनीमा गर्नुपर्ने जोखिम हस्तान्तरण कार्य (पुनर्बीमा) बारे सोधीखोजी हुँदा पुनर्बीमा नै नगरेको तथ्य फेला परेको छ । उक्त समयमा कामु सिईओको रुपमा हालका डेपुटी सिईओ सुवास कोइराला कार्यरत रहेका थिए । र, पुनर्बीमा विभागको जिम्मेवारीमा चिफ म्यानेजर डा. सिर्जना पन्त थिईन् । सो घटनाबारे अहिले राष्ट्रिय बीमा कम्पनीमा ठूलो मुद्दा बनिरहेको छ ।

जम्मा २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको सञ्चालक समितिले दुई अर्बभन्दा बढिको जोखिम धारण गरी पुनर्बीमा नगरेको विषयमा तत्कालिन कामु सिईओ सुवास कोइराला र पुनर्बीमा विभागकी प्रमुख डा. सिर्जना पन्तलाई स्पष्टिकरण सोधेको छ । उल्लेखित दुई जना कर्मचारीहरु सञ्चालक समितिले सोधेको स्पष्टिकरणमाथि कुनै जवाफ नदिई लाज पचाएर कार्यालयमै बसिरहेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिका एक अधिकारीले अपर तामाकोशीमा आफ्नै कर्मचारीले अर्बौ रुपैयाँको जोखिम धारणगरी पुनर्बीमा नगरी त्रुटी गरेको फेला परेको स्वीकार गरेका छन् । साथै सञ्चालक समितिले छानविन गरिरहेको समेत जानकारी दिएका छन् ।

उता, माथिल्लो तामाकोशी आयोजनाले हालसम्म राष्ट्रिय बीमा कम्पनीले कुनै रकम भुक्तानी नगरेको र आफूहरुले छिटो बीमा दावी भुक्तानी गर्न ताकेता गर्दा समेत प्राबिधिकहरु पठाएर काम गर्दैछ भनेर टार्दै आएको जनाएको छ ।
बीमापोष्टले विभिन्न पक्षहरुसँग गरेको छलफलबाट अपर तामाकोशी जलविद्युत आयोजनामा पुगेको क्षतिमा राष्ट्रिय बीमा कम्पनीले कम्तीमा एक अर्ब र बढिमा एक अर्ब ३० करोड हाराहारी दावी तिर्नुपर्ने देखिन आएको छ । सो मध्ये दुई पुनर्बीमा कम्पनीलाई गरिएको अनिवार्य बीमाको हिस्सा कटाउँदा राष्ट्रिय बीमा कम्पनीको भागमा ९० करोडभन्दा माथि नै पर्ने देखिन आएको छ ।

यति ठूलो रकम अब राष्ट्रिय बीमा कम्पनीले जगेडा कोषबाट तिर्नुपर्नेछ । चुक्ता पुँजि जम्मा २६ करोड ६६ लाख रुपैयाँ मात्रै भएकोले जगेडा कोषमा रहेको दुई अर्ब ३३ करोड रहेको जगेडा कोषबाटै अपर तामाकोशीको बीमा दावी भुक्तानी तिर्नुपर्ने अवस्थामा कम्पनी पुग्ने देखिएको छ ।

उता, २०८१ बैशाख १४ बाट नियुक्त भएका सिईओ डा.शिवहरि श्रेष्ठ समेत अपर तामाकोशी काण्डमा दोषी ठहर हुनेछन् । किनभने उनी सिईओ पदमा बहाल रहेको छ महिनासम्म अपर तामाकोशीको दुई अर्बभन्दा बढिको जोखिम पुनर्बीमा गरिएको थिएन् । बीमा पोलिसी काटिएको सात महिनासम्म र नयाँ सिईओ नियुक्त भएको छ महिनासम्म दुई अर्बभन्दा बढि जोखिमको पुनर्बीमा नगरी राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले नेपाल सरकार र सर्वसाधारणको लगानीलाई नोक्सान पुर्याएका छन् ।

सो सम्बन्धमा जिज्ञाशा राख्दा सिईओ श्रेष्ठले केही बताउन चाहेनन् ।

 

राष्ट्रिय बीमा कम्पनीकी मुख्य व्यवस्थाक सिर्जना पन्तद्वारा बीमापोष्टको समाचारको खण्डन

 

 

One thought on “राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिईओ सुवास कोइराला र पुनर्बीमा प्रमुख सिर्जना पन्तको त्रुटीले एक अर्ब बढीको नोक्सान

  1. Shrestha K says:

    सरकारी काम कहिले जाला घाम !!!

Leave a Reply to Shrestha K Cancel reply

Your email address will not be published. Required fields are marked *


*