वर्षदिनमा भूगर्भ सिमेन्टको आम्दानी १ अर्ब ३९ करोड, आइपीओ मार्फत थप विस्तारको तयारी

काठमाडौँ । आइपीओ ल्याउने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्ष दिनको अवधीमा करिब साढे १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १ अर्ब ३९ करोड रुपैयाँ सञ्चालक नाफा गरेको हो ।
कम्पनीले गरेको आम्दानी सन् २०२३ को तुलनामा १० प्रतिशतले बढी हो । सन् २०२३ मा कम्पनीले १ अर्ब २६ करोड ४० लाख र सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँको आम्दानी गरेको थियो । कम्पनीको आय र अन्य वित्तीय सूचकहरूमा केही सुधार देखिएको छ ।
सञ्चालन मुनाफा अगाडि ब्याज, कर, मूल्यह्रास र अमूर्त सम्पत्तिको ह्रास मार्जिन २०२२ मा ७.७० प्रतिशत थियो, जुन २०२३ मा १.६९ प्रतिशतमा घटे पनि २०२४ मा उल्लेखनीय रूपमा २९.८८ प्रतिशत मा सुधार भएको छ । ब्याज कभरेज पनि २०२२ मा ०.८९ पटकबाट २०२३ मा ०.१३ पटकमा घटेको थियो, तर २०२४ मा १.६८ पटकमा सुधार भएको देखिन्छ ।
कुल गियरिङ र देनदारिता अनुपातमा पनि सुधार देखिएको छ । वित्तीय वर्ष २०२२ मा कुल गियरिङ ४.२६ पटक रहेको थियो, जुन २०२३ मा ५.४९ पटकमा बढेपछि २०२४ मा ३.८८ पटकमा घटेको छ ।
केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीले लामो र छोटो अवधि बैंक सुविधाको रेटिङलाई पुनः पुष्टि गरेको छ । कम्पनीको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ बराबरको लामो अवधि बैंक सुविधामा ‘केयर एनबि बि’ रेटिङ तथा ७७ करोड ८३ लाख रुपैयाँ बराबरको छोटो अवधि बैंक सुविधामा ‘केयर एनपि ए४’ रेटिङ कायम गरिएको छ ।
भूगर्भ सिमेन्ट लिमिटेड (पूर्व नाम भूगर्भ सिमेन्ट उद्योग प्रा.लि.) एक सार्वजनिक सीमित कम्पनी हो, जसको स्थापना २०१६ मा भएको थियो । जुन २०२३ जुन २२ मा निजीबाट सार्वजनिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । कम्पनीले आफ्नै खानी योजना सञ्चालन गर्दै आएको छ जसको उत्पादन क्षमता ३२०० मेट्रिक टन प्रति दिन (एमटिपीडी) रहेको छ। बीसीएल पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट (पीपीसी) र अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादनमा संलग्न रहेको छ । यस कम्पनीले ५०० एमटिपीडी क्षमताबाट उत्पादन बढाएर अगस्ट २०२३ देखि ७०० एमटिपीडी बनाएको छ । कम्पनीसँग आफ्नै क्लिंकर उत्पादन क्षमता पनि रहेको छ जसको दैनिक क्षमता ३०० एमटिपीडी रहेको छ ।
भविष्यमा कम्पनीले आफ्नो व्यवसाय विस्तारलाई नाफामुखी बनाउँदै कार्यशील पूँजीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्ने क्षमतालाई रेटिङको मुख्य संवेदनशीलता मानिएको छ । कम्पनीका अनुभव भएका प्रवद्र्धक, स्थापित ब्रान्ड, तथा क्याप्टिभ चूनखानीको पहुँचले एकल पिसाइ इकाईहरूप्रति कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएको बताइएको छ ।
कम्पनीले जेठ महिनामा आइपीओ प्रस्तावका पारितका लागि विशेष साधारण सभा आव्हान गरेको छ ।