रिलायबल लाइफको वित्तीय सूचकमा लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३५ करोड ३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन र कुल आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो।
गत आवमा कम्पनीको कुल आम्दानी २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालू आवमा बढेर ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा १ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चालू आवमा उक्त बीमाकोष ३५ दशमलव ७९ प्रतिशतले बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहको छ। कम्पनीले दोस्रो त्रैमाससम्म शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ सञ्चित गरेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा रहेकोमा चालू आवमा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ६६ पैसा रहेको छ।