६ महिनामा पुनर्बीमा कम्पनीको लगानी साढे ४० अर्ब, हिमालयन रि इन्स्योरेन्स लगानी विस्तारमा अब्बल

काठमाडौँ । नेपालमा सञ्चालन रहेका पूनर्बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा साढे ४० अर्बबढी लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका दुई पूनर्बीमा कम्पनीहरुले नियामक निकायको लगानी निर्देशिकाको अधिनमा रहेर विभिन्न क्षेत्रमा कुल ४० अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका हुन् ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको कुल २१ अर्ब १० करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १९ अर्ब ५२ करोड रुपैयाँ लगानी रहेको छ ।
यस अवधिमा नेपाल पुनर्बीमा कम्पनीले बैंकहरुको मुद्दति निक्षेपमा कुल १८ अर्ब चार करोड रुपैयाँ लगानी गरेको छ । यस अवधिमा नेपाल पुनर्बीमा कम्पनीले १५ अर्ब ६२ करोड रुपैयाँ क बर्गको बैंक र एक अर्ब ७५ करोड ख बर्गको बैंकमा लगानी गरेको छ ।
साथै, कम्पनीले एक अर्ब ७५ करोड रुपैयाँ ख वर्गका विकास बैंकमा र ४० करोड रुपैयाँ ग बर्गका वित्तीय संस्थाहरुमा लगानी गरेको छ । पूर्बाधार विकास बैंकमा कम्पनीले २६ करोड रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले सरकारी बचतपत्र र ऋणपत्रमा ३० करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा एक अर्ब ३६ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा नौ करोड रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा पाँच करोड रुपैयाँसहित विभिन्न क्षेत्रमा लगानी गरेको तथ्यांकले देखाएको छ।
त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित हिमालयन रि इन्स्योरेन्स पनि व्यवसाय विस्तारका साथै लगानी विस्तारमा पनि आक्रामक रुपले अघि बढ्दै गएको छ । चालु आवको ६ महिनामा कम्पनीको विभिन्न क्षेत्रमा कुल १९ अर्ब ५२ करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीले क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा १३ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, कम्पनीले सूचीकृत पब्लिक कम्पनीको शेयरमा तीन अर्ब ६५ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा एक अर्ब ३६ करोड रुपैयाँ र नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा ७५ लाख रुपैयाँ लगानी गरेको छ । हिमालयन रि इन्स्योरेन्सले विदेशमा पनि शाखा विस्तारसहित व्यवसाय गर्ने तयारीमा छ ।
पुनर्बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिकाको अधिनमा रहेर विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । कम्पनीहरुले बैंक तथा वित्तीय संस्था मार्फत शिक्षा तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् ।
Re insurance investment