नेपाल लाइफ, हिमालयन लाइफ र एलआइसी नेपाललाई दाजेर हेर्दा (वित्तीय सूचांक विश्लेषणसहित)

२९ माघ २०८१, मंगलवार १८:४३

काठमाडौं । हाल नेपालमा संचालन रहेका १० वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् ।

नेपाली बीमा क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं मानिसहरुले जीवन बीमा गरेर आफ्नो जीवन रक्षावरणको जिम्मा लगाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल र हिमालयन लाइफ इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा

चुक्ता पुँजी
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी आठ अर्ब दुई करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, तेस्रोमा रहेको एलआइसी नेपालको चुक्ता पूँजी दुई अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले चुक्ताँ पुँजी बृद्धिको लागि हकप्रद शेयर बिक्री गरिरहेको छ ।

जीवन बीमा कोष
समीक्षा अवधिमा उल्लेखित कम्पनीहरुलाई जीवन बीमा कोषको आधारमा दाजेर हेर्दा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले जीवन बीमा कोषमा दुई खर्ब १७ अर्ब १४ करोड रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ ।

दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रकम संचिती रहेको छ । त्यस्तै, हिमालयन लाइफको जीवन बीमा कोषमा ७० अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ ।

रिटर्न अर्निङ
तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा रिटर्न अर्निङमा एलआइसी नेपाल सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा उक्त कोषमा दुई अर्ब ६३ करोड रुपैयाँ संचित गरेको छ ।  दोस्रो नम्बरमा रहेको नेपाल लाइफको उक्त कोषमा दुई अर्ब ३८ करोड रुपैयाँ र हिमालयन लाइफको दुई अर्ब १३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

कुल बीमा शुल्क आर्जन
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा शुल्कको आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा २२ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले नौ अर्ब ४५ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको हिमालयन लाइफले आठ अर्ब २६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

खुद नाफा
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुको मुनाफामा वृद्धि भएको् छ । यस अवधिमा खुद नाफाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ४६ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ३७ करोड ६२ लाख रुपैयाँ र एलआइसी नेपालको मुनाफा १४ करोड १८ लाख आर्जन गरेको छ । यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कुल बीमा दावी भुक्तानी
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा दाबी भुक्तानीमा नेपाल लाइफ अगाडि रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले सात अर्ब ५७ करोड रुपैयाँको कुल दावी भुक्तानी गरेको छ । बीमा कम्पनीहरुमा नयाँ व्यवसाय भित्रिएसँगै जोखिम पनि भित्रिन्छ । नेपाल लाइफ व्यवसायिक रुपले अगाडि भएको कारण कम्पनीको खुद बीमा दाबी भुक्तानी पनि बढी देखिएको हो ।

त्यस्तै, यस अवधिमा एलआइसी नेपालले पाँच अर्ब ८१ करोड रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सले तीन अर्ब चार करोड रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ ।

कुल खर्च
समीक्षा अवधिमा खुल खर्चमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । विभिन्न शिर्षकमा कम्पनीले यस अवधिमा ३१ अर्ब दुई करोड रुपैयाँ खर्च गरेको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले १४ अर्ब २४ करोड रुपैयाँ र हिमालयन लाइफले ११ अर्ब ३३ करोड रुपैयाँ कुल खर्च गरेका छन् ।

बीमालेख संख्या
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफमा तीन लाख ७४ हजार वटा बीमा गरिएको अवस्था छ । साथै ६ महिनाको अवधिमा एलआइसी नेपालमा २९ हजार ५९ वटा र हिमालयन लाइफमा २० हजार ६६४ वटा बीमा गरिएको छ ।

प्रति शेयर आम्दानी
प्रति शेयर आम्दानीको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४१ पैसा रहेको छ । दास्रोमा रहेको एलआइसी नेपालको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६९ पैसा र तेस्रो स्थानमा रहेको हिमालयन लाइफको नौ रुपैयाँ ३८ पैसा मात्र छ ।

:उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*