१४ कम्पनीमा ७ खर्ब ३७ अर्बको जीवन बीमा कोष, नेपाल लाइफ र एलआइसी नेपालको खर्बमाथि, अन्य कुन कम्पनी कति बलियो ?

३० माघ २०८१, बुधबार १४:२०

काठमाडौँ । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीमा चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा कूल सात खर्ब ३७ अर्ब रुपैयाँको जीवन बीमा कोष रहेको देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा बीमापोष्टले तयार पारेको विश्लेषणमा कोषको आकार १८.३५ प्रतिशतले बढेको देखिएको छ ।

जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण हुन्छ । जीवन बीमा कोषको आधारमा कम्पनीले धारण गरेको दायित्व तथा बलियोपनाको मापन गर्दछ । जति ठूलो जीवन बीमा कोष हुन्छ, उति नै बजारमा प्रभाव र दवाव रहेको देखाउँछ ।

देशको अर्थतन्त्रको ब्याकबोनका रुपमा जीवन बीमा कम्पनीहरुलाई लिइन्छ । यसको कारण पनि जीवन बीमा कम्पनीहरुले बिशाल जीवन बीमा कोष खडा गरेर बैंक, वित्त कम्पनी तथा राष्ट्रका लागि पुँजि निर्माण गरिदिन्छन् । नेपालका १४ जीवन बीमा कम्पनीहरुले देशको कूल राजश्वकै आकाश नजिक अर्थात देशको कूल बजेटको आधा आकारको जीवन बीमा कोष निर्माण गरिसकेका छन् ।

विवरणअनुसार चालु आवको पुष मसान्तसम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा सात खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको कोषमा छ अर्ब २२ अर्ब ९२ करोड रुपैयाँ सञ्चिती रहेको थियो । यस वर्ष झण्डै एक खर्ब रुपैयाँले जीवन बीमा कोषको आकार बढेको छ ।

बीमा ऐन अनुसार जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणमा बीमा कोष छुट्याएर राख्नुपर्दछ । कम्पनीको भविष्यमा हुन सक्ने जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोषहरु छुट्याएर राखेको हुन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी बीमा कोषको आकार नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफले समीक्षा अवधिमा दुई खर्ब १७ अर्ब १४ करोड रुपैयाँ जीवन बीमा कोषमा संचित गरेर राखेको छ । जुन यो गत आवको तु्लनामा १८.९० प्रतिशत बढी हो ।

जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा

त्यस्तै, एलआइसी नेपालले पनि जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गर्दै दोस्रो त्रैमाससम्म एक खर्ब २७ अर्ब २७ करोड रुपैयाँ संचित गरेको छ । नेशनल लाइफले पनि समीक्षा अवधिमा उल्लेख्य प्रिमियम कलेक्शन गरि सो बीमाकोषको आकार बढाएर कोषमा ७७ अर्ब ९५ करोड रुपैयाँ संचित गरेको छ ।

समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको ७० अर्ब ४० करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ५८ अर्ब, एशियन लाइफ इन्स्योरेन्सको ४४ अर्ब ६८ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३७ अर्ब ७३ करोड रुपैयाँ, मेट लाइफको २७ अर्ब ३२ करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चिती रहेको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको १६ अर्ब ८५ करोड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १६ अर्ब ६० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११ अर्ब ८९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ अर्ब ५३ करोड रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १० अर्ब ८७ करोड रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको आठ अर्ब ९६ करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चिती गर्न सफल भएका छन् ।

बृद्धिदरको आधारमाको अघि ?

समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीहरुमध्ये गत आवको तुलनामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी अंकले जीवन बीमा कोषको आकार बृद्धि गरेको छ । कम्पनीले गत आवको तुलनामा जीवन बीमा कोषको आकार ४८.५९ प्रतिशतले बढेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ४५.२५ प्रतिशत, आइएमई लाइफको ४४.०८ प्रतिशत, सिटिजन लाइफको ४० प्रतिशतले बृद्धि भएको छ ।

जीवन बीमा कम्पनीहरुका लागि बीमा कोष एकदमै महत्वपूर्ण सूचाङ्क हो । बीमा कम्पनीहरुले बीमा ब्यवसाय गर्दा बीमितहरुमार्फत उठाएको प्रिमियम, बीमालेख धितोमा कर्जाबाट प्राप्त ब्याजदर रकम, मुद्दती निक्षेपबाट प्राप्त ब्याजदर, लगानी कर्जा तथा अन्यबाट आय र पुनर्बीमा कमिशन आयबाट मुनाफा संचित गरी बीमा कोषमा केही रकम संचित गरी राखेको हुन्छ ।

भविष्यमा कम्पनीमा हुन सक्ने जोखिम बहनका लागि जीवन बीमा कम्पनीहरुले अनिवार्य रुपमा बीमा कोषमा रकम छुट्याएर राखेको हुन्छ, हुनुपर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*