१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता पौने ४० अर्ब, बीमा दावी नतिर्नेमा सलिको सबैभन्दा अगाडी

१ फाल्गुन २०८१, बिहीबार १२:२४

काठमाडौं । देशका १४ वटा निर्जीवन बीमा कम्पनीले बीमितलाई तिर्नुपर्ने दावी भुक्तानी बक्यौता करिब ४० अर्ब छ । यस्तो तथ्याङ्कले नियामक नेपाल बीमा प्राधिकरणको कार्यक्षमतामाथि गम्भिर प्रश्न मात्रै उठाएको छैन, बीमा शुल्क लिन्छन् दावी भुक्तानी तिर्दैनन् भन्ने भास्य स्थापित गरिदिएको छ ।

नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमितहरुलाई कूल दिन बाँकी दावी भुक्तानी बापतको रकम ३९ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ बक्यौता रहेको बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गत आवको सोही अवधिको तुलनामा दावी भुक्तानी गुर्नुपर्ने रकम ४१.८५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरु २८ अर्ब ९६ लाख रुपैयाँ दावी भुक्तानी गर्नुपर्ने थियो । यस अवधिमा केही निर्जीवन बीमा कम्पनीहरुको दावी भुक्तानी गर्नुपर्ने रकम दुई गुणा बढीसम्म रहेको छ ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दाबी भुक्तानी गर्नुपर्ने रकम सबैभन्दा बढी रहेको छ । दुई अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले कुल ६ अर्ब नौ करोड रुपैयाँ बराबरको दावी रकम भुक्तानी बक्यौता रहेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

बक्यौता दावी तिर्नुपर्ने रकमको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । दुई अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले समीक्षा अवधिसम्ममा पाँच अर्ब ४१ करोड रुपैयाँको दावी भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले कुल तीन अर्ब ९७ करोड रुपैयाँ दावी भुक्तानी गर्नुपर्ने देखिएको छ ।

साथै, सानिमा जिआइसी इन्स्योरेन्सले तीन अर्ब ६७ रुपैयाँ बीमा दावी भुक्तानी गर्नुपर्ने छ । दुई अर्ब एक करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेको इन्स्योरेन्सको दुई अर्ब ८४ करोड रुपैयाँ दावी भुक्तानी दिन बाँकी रहेको छ ।

सरकारी स्वामित्व राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँमात्र रहेको छ । तर, यस कम्पनीले आम बीमितहरुलाई दुई अर्ब ६४ करोड रुपैयाँको दावी भुक्तानी गर्न बाँकी रहेको रहेको छ । कम्पनीले पुनर्बीमामा जोखिम हस्तान्तरण नगर्दा अर्बौ रुपैयाँ कम्पनीको थाप्लोमा पर्न आएको अवस्था छ ।

समीक्षा अवधिमा तीन अर्ब दुई करोड रुपैयाँ चुक्ता पुँजी रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दावी भुक्तानी गर्नुपर्ने रकम दुई अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

साथै, ओरियण्टल इन्स्योरेन्सले दुई अर्ब ३६ करोड रुपैयाँ, एजएलजी इन्स्योरेन्सले एक अर्ब ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले एक अर्ब ६४ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब ५५ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब २९ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले एक अर्ब २३ करोड रुपैयाँ बराबरको रकम दावी वापत भुक्तानी गर्न बाँकी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*