सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल हुँदा दयनीय सोनापुर र घोराही, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै सर्वोत्तम, सोनापुर, घोराही र शिवम सिमेन्टले निर्माण क्षेत्रमा देखिएको आर्थिक मन्दी र विविध चुनौतीहरूका कारण व्यवसाय खुम्चिँदै गएको देखिएको हो ।
चारमध्ये शिवम सिमेन्ट र सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । तर, घोराही सिमेन्ट र सोनापुर सिमेन्टको अवस्था भने दयनीय देखिएको छ । वित्तीय विवरण अनुसार यी दुई कम्पनीहरूको व्यवसाय खुम्चिनुका साथै नाफामा भारी गिरावट आएको छ ।
दोस्रो बजारमा ४०० देखि ८०० रुपैयाँबीच कारोबार भइरहेका यी कम्पनीहरूको शेयर मूल्य उच्च देखिए पनि वित्तीय सूचकहरू कमजोर रहेका कारण लगानीकर्ताले सावधानी अपनाउन आवश्यक देखिन्छ । वित्तीय विवरण कमजोर भए पनि शेयर मूल्य सबैभन्दा माथि रहनु पुँजी बजारमा भइरहेको चलखेलको संकेत मान्न सकिन्छ। सिमेन्ट कम्पनीहरूमा देखिएको यो वित्तीय कमजोरीको मुख्य कारण निर्माण क्षेत्रमा देखिएको मन्दी र निर्माण व्यवसायीहरूलाई समयमा वक्यौता उपलब्ध नभएको अवस्था हो । आर्थिक गतिविधिहरूमा आएको मन्दीले सिमेन्टको माग घटाएको छ, जसले कम्पनीहरूको कारोबार खुम्चिनुका साथै नाफामा ठूलो गिरावट ल्याएको छ ।
वित्तीय रूपमा कमजोर देखिएका कम्पनीहरूमा लगानी गर्दा जोखिम उच्च रहने स्पष्ट देखिन्छ। घोराही र सोनापुर सिमेन्टको दयनीय वित्तीय अवस्थाका कारण यी कम्पनीहरूमा लगानी सुरक्षित मान्न सकिँदैन । तर, तुलनात्मक रूपमा स्थिरता कायम राखेका शिवम र सर्वोत्तम सिमेन्टमा दीर्घकालीन लगानीको सम्भावना भने रहने छ ।
लगानीकर्ताले सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था, बजार स्थिति, र भविष्यका व्यवसायिक रणनीतिहरूको गहन अध्ययन गरी मात्र लगानी गर्ने निर्णय लिनु उचित देखिन्छ । विशेषगरी, वित्तीय पुनर्संरचना र व्यवसायिक रणनीतिहरू सुधार नगरेसम्म यी कम्पनीहरूले पुँजी बजारमा दीर्घकालीन विश्वसनीयता कायम गर्न चुनौतीपूर्ण हुने भएकाले सजगता अपनाउनु पर्ने छ । बजारको अवस्था, वित्तीय विवरण र व्यवसायिक रणनीतिहरूको गहिरो अध्ययनपछि मात्र लगानी गर्ने निर्णय लिनु बुद्धिमानी हुनेछ ।
नाफामा सर्वोत्तम अघि, दुई कम्पनी ऋणात्मक
नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा अघि देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले आफ्नो नाफा ६८९ प्रतिशतले बढेर २४ करोड १४ लाख रुपैयाँ ५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसअवधिमा शिवम सिमेन्टले समेत ५ करोड ६८ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । तर, कम्पनीको नाफा गत वर्षको सोहि अवधिको तुलनामा भने ६१ प्रतिशतले कम हो ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्मा सोनापुर १२ करोड २० लाख र घोेराही ६६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।
प्रतिशेयर आम्दानीमा पनि सर्वोत्तम नै नम्बर वान
चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको सर्वोत्तम प्रतिशेयर आम्दानीमा समेत नम्बर वानमा रहेको छ । चालु आवको ६ महिनामा कम्पनीको प्रतिशेयर आम्दानी ९.७० रुपैयाँ रहेको छ ।
शिवमको प्रतिशेयर आम्दानी २.०८ रुपैयाँ रहेको छ । साथै, अन्य दुई कम्पनीको भने ऋणात्मक अवस्थामा रहेको छ । प्रतिशेयर नेटवर्थमा सोनापुरको ७.९४ रुपैयाँ ऋणात्मक र घोराहीको १४.६० रुपैयाँ ऋणात्मक रहेको छ ।
चुक्तापुँजी कसको कति ?
चुक्तापुँजी धेरै हुनेमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५५ प्रतिशतले बढी हो ।
यता, चालु आवको ६ महिनामा सर्वोत्तमको चुक्तापुँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो ।
साथै, घोराहीको चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ र सोनापुरको ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ ।
उत्पादन बिक्रीबाट हुने आम्दानी
उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने सर्वाेत्तमको ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको तुलनामा भने ३५.९४ प्रतिशतले बढी हो ।
त्यस्तै, शिवम सिमेन्टको ३ अर्ब १० करोड, घोराहीको १ अर्ब ७३ करोड र सोनापुरको ९१ करोड ५८ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी भएको छ ।
नेटवर्थ कस्को कति ?
नेटवर्थमा सोनापुरको धेरै रहेको छ । कम्पनीको नेटवर्थ १८८.३३ रुपैयाँ रहेको छ । साथै, सर्वोत्तमको १८६.६६ रुपैयाँ, घोराहीको १८४.३६ रुपैयाँ र शिवमको १७५.३१ रुपैयाँ रहेको छ ।
जगेडा कोष
जगेडा कोषमा सर्वोत्तमको ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ रहेको छ । यो चार सिमेन्ट मध्यकै सबैभन्दा धेरै हो ।
यता, शिवम सिमेन्टको ३ अर्ब १५ करोड, घोराही सिमेन्टको १ अर्ब ३७ करोड र सोनापुरको ९४ करोड ७ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।
वित्त खर्च
वित्त खर्च सर्वोत्तमको १५ करोड ६२ लाख, सोनापुरको १२ करोड ५२ लाख र शिवमको ४२ लाख १६ हजार रुपैयाँ रहेको छ । यता, घोराही सिमेन्टको भने वित्त खर्च ४८ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
बिक्री लागत
चालु आर्थिक वर्षको ६ महिनामा बिक्रि लागतमा सर्वोत्तम अघि रहेको छ । कम्पनीको बिक्री लागत ३३.६६ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड २६ लाख रुपैयाँ रहेको छ ।
यता, शिवमको २ अर्ब ७० करोड रहेको छ । साथै, सोनापुरको ८२ करोड ९२ लाख ऋणात्मक र घोराहीको १ अर्ब ६१ करोड ऋणात्मक रहेको छ ।