जीवन बीमकको कुल बीमाशुल्क आर्जन करिब ८५ अर्बः नेपाल र नेशनल अगाडी, वृद्धिदरमा सन नेपाल

काठमाडौं । जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमासको वित्तीय विवरण हालै सार्वजनिक गरेका छ। उक्त वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
कम्पनीहरूले गत आर्थिक वर्षको यसै अवधिमा गरेको कुल बीमाशुल्कको आधारमा चालू आवमा यस्तो रकम १२ दशमलव ०६ प्रतिशतले वृद्धि भएको हो। गत आवमा कम्पनीहरूले ७५ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
चालू आवको दोस्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक कुल बीमाशुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ। ६ महीनामा यस कम्पनीले २३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको गत आवको सोही अवधिमा यस्तो रकम २० अर्ब रुपैयाँ थियो।
त्यस्तै दोस्रोमा नेशनल लाइफले ९ अर्ब ६१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिमा ८ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यसैगरी चालू आवमा एलआईसी नेपालले ९ अर्ब ४५ करोड रुपैयाँ, हिमालयन लाइफले ८ अर्ब २६ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७९ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ र एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यस्तै सिटिजन लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब २० करोड रुपैयाँ, मेट अमेरिकन लाइफले २ अर्ब ८६ करोड रुपैयाँ, सन नेपाल लाइफले २ अर्ब ४५ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
वृद्धिदरका आधारमा
कम्पनीहरूले चालू आवको दोस्रो त्रैमाससम्ममा गरेको कुल बीमाशुल्क आर्जनलाई गत आवको सोही अवधिमा गरेको कुल बीमाशुल्क आर्जनलाई दाँजेर हेर्ने हो भने १३ वटा कम्पनीको कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ भने १ वटा कम्पनीको घटेको छ।
वृद्धिदरका आधारमा हेर्दा सन नेपाल लाइफ ३८ दशमलव ०८ प्रतिशत सहित अग्रस्थानमा रहेको छ। कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो।
त्यसैगरी दोस्रो र तेस्रोमा सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ क्रमशः २३ दशमलव ६३ प्रतिशत र २३ दशमलव ४१ प्रतिशतले वृद्धिदरको दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
सूर्यज्योति लाइफको १८ दशमलव २४ प्रतिशत, नेपाल लाइफ १६ दशमलव ९८ प्रतिशत, आइएमई लाइफ १५ दशमलव ७४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ १५ दशमलव २९ प्रतिशत र सानिमा रिलायन्स लाइफको १४ दशमलव ९३ प्रतिशत रहेको छ।
त्यसैगरी एशियन लाइफ १४ दशमलव ८६ प्रतिशत, नेशनल लाइफ १२.२० प्रतिशत, एलआईसी नेपाल ९ दशमलव २० प्रतिशत, मेट अमेरिकन लाइफ ६ दशमलव ७८ प्रतिशत र हिमालयन लाइफको २.१४ प्रतिशतले वृद्धि भएको छ।
चालू आवको दोस्रो त्रैमासमा एकमात्र राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमशुल्क आर्जन गत आवको सोही अवधिको तुलनमा ९ दशमलव ६७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ। कम्पनीले गत आवमा ६ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा घटेर ५ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ।