संकटग्रस्त अवस्थामा अम्बे सिमेन्ट, बिक्री घट्दा वर्षदिनमा ४२ करोडको व्यापार गायब

५ फाल्गुन २०८१, सोमबार १६:४१

काठमाडौँ । अम्बे ग्रुप अन्तर्गतको अम्बे सिमेन्टको व्यापारमा भारी गिरावट आएको छ । कम्पनीले उत्पादन गर्दै आएको सिमेन्ट बजारमा ग्राहकहरुले रुचाउन नै छोडेपछि कम्पनीको सञ्चालन आम्दानीमा ठुलो धक्का लागेको हो ।

केयर रेटिङ नेपालका अनुसार वर्षदिनमा ४२ अर्ब १० करोड रुपैयाँ गायब भएको छ । कम्पनीले सन् २०२३ मा ५७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२४ मा कम्पनीको उक्त आम्दानी ७३ प्रतिशतले घटेर १५ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो । सन् २०२२ मा कम्पनीले १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार निरन्तर ओरालो यात्रामा लागि रहेको हो । जसले कम्पनीको अवस्था संकटग्रस्त रहेको प्रष्ट गरेको छ ।

कम्पनीको पिबिआइएलडीटी मार्जिन सन् २०२२ मा ६.९५ प्रतिशत थियो । तर, सन् २०२३ मा उक्त मार्जिन ०.२७ प्रतिशतमा झ¥यो । कम्पनीको अवस्था अझ बिग्रँदै जाँदा उक्त मार्जिन पूर्ण रूपमा नकारात्मक रह्यो ।

कम्पनीको कर्जाको अवस्था पनि निराशाजनक देखिन्छ । सन् २०२२ मा कुल कर्जाको अनुपात (ओभरअल गियरिङ) ०.९८ गुणा थियो, जुन सन् २०२३ मा १.०० गुणामा पुगेको थियो । तर, सन् २०२४ मा कर्जाको भार थप बढेर १.२२ गुणामा पुगेको छ, जसले कम्पनीको वित्तीय संकटलाई झन् गहिरो बनाएको छ ।

एसीपीएलको व्याज भुक्तानी क्षमतामा समेत भारी गिरावट देखिएको छ । सन् २०२२ मा व्याज कभरज अनुपात १.६४ गुणा रहेकोमा सन् २०२३ मा ०.०३ गुणामा खुम्चियो र सन् २०२४ मा पूर्ण रूपमा नकारात्मक देखियो । यसले कम्पनीको ऋण भुक्तानी क्षमतामा गम्भीर समस्या रहेको प्रष्ट गरेको छ ।

त्यस्तै, कम्पनीको चालू अनुपात (करेन्ट रेसियो) पनि लगातार घट्दो क्रममा रहेको छ । सन् मा १.४२ गुणा रहेको चालू अनुपात सन् २०२३ मा १.२६ गुणामा र सन् २०२४ मा झन् घटेर १.०४ गुणामा पुगेको छ । जसले कम्पनीको छोटो अवधिको वित्तीय दायित्वहरु पूरा गर्ने क्षमतामा कमजोरी देखाएको छ ।

समग्रमा, एसीपीएलको वित्तीय प्रदर्शन पछिल्ला तीन वर्षदेखि लगातार नकारात्मक देखिएको छ । कम्पनीको सञ्चालन आम्दानीमा भारी गिरावट, नाफा मार्जिन नकारात्मक, कर्जाको भारमा वृद्धि, व्याज भुक्तानी क्षमतामा ह्रास र चालू अनुपातमा गिरावटले कम्पनीको आर्थिक संकटलाई झल्काएको छ ।

बजारमा नयाँ ब्रान्डहरूको प्रतिस्पर्धा बढ्नु र बिक्रीका अवसरहरू सीमित हुनुका कारण अम्बे सिमेन्टको व्यापारमा प्रभाव परेको छ। यी प्रतिस्पर्धी कम्पनीहरूको कम मूल्य र उच्च गुणस्तरीय उत्पादनहरूले ग्राहकहरूको ध्यान आकर्षित गरेका छन्, जसका कारण अम्बे सिमेन्टले आफ्नो बजार हिस्सामा कमी महसुस गरेको छ। साथै, सिमेन्टको बिक्रीमा कमी आएको र भविष्यमा प्रतिस्पर्धा गर्नको लागि रणनीतिहरू परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ। कम्पनीका अधिकारीहरूले ग्राहकहरूको विश्वास र बिश्वसनीयता कायम राख्न थप प्रयास गर्नुपर्ने भएको उल्लेख गरेका छन्।

केयर रेटिङ्स नेपाल लिमिटेडले अम्बे सिमेन्ट प्रा. लिको छोटो अवधिका बैंक सुविधाहरूको रेटिङ ‘केयर–एनपी ए४’ (ए फोर) कायम राखेको छ । कम्पनीले ५४ करोड १७ लाख १० हजार रुपैयाँ ऋण लिनका लागि रेटिङ गरेको छ ।

अम्बे सिमेन्टले दैनिक १ हजार टन क्षमताको ग्राइन्डिङ युनिट छ । अम्बेले दुई/दुईवटा ब्राण्डका ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्छ । ६ ब्राण्डका पीएससी सिमेन्ट उद्योगले बिक्री गर्दै आएको छ । पूर्वी नेपालमा राम्रो बजार रहेको अम्बेले चारवटा प्रदेश र ३८ जिल्लामा सिमेन्ट बिक्री केन्द्रित गरेको छ । कम्पनीको अध्यक्षमा शोभाकर न्यौपाने रहेका छन् ।

सम्बन्धीत समाचार:

लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती

वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ

अम्बे मोबाइल्सको १५ करोड व्यापार गायबः लावा र बेंको मोबाइल बिक्री हुन छोडेपछि संकटमा नेपाली बजार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*