बीमालेख धितोमा ९५ अर्ब कर्जा प्रवाह, नेपाल लाइफको मात्रै ३५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म देशका १४ वटा जीवन बीमा कम्पनीहरूले बीमालेख धितो राखेर बीमितहरूलाई ९५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बीमालेख कर्जा ६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको हो। गत आवमा कम्पनीहरूले ८९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका थिए।
विवरणले पछिल्लो समय यस्तो कर्जाको माग बढ्दै गइरहेको र कम्पनीहरूका लागि आम्दानीको एउटा माध्यम बनिरहेको देखाएको छ। कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी नेपाल लाइफ एक्लैले ३५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यसैगरी दोस्रोमा एलआईसी नेपालले २१ अर्ब ८३ करोड रुपैयाँ, नेशनल लाइफले ११ अर्ब ५६ करोड रुपैयाँ, हिमालयन लाइफले ७ अर्ब ३८ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब १ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यस्तै मेट अमेरिकन लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ३६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब १३ करोड रुपैयाँ, सिटिजन लाइफले ९१ करोड रुपैयाँ, आइएमई लाइफले ८१ करोड रुपैयाँ, सन नेपाल लाइफले ६५ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ४६ करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा प्रवाह गरेका छन्।
वृद्धिदरको आधारमा
कम्पनीहरूले गत आवमा प्रवाह गरेको यस्तो कर्जालाई चालू आवको सोही अवधिमा गरेको कर्जा प्रवाहसँग दाँजेर हेर्ने हो भने आइएमई लाइफको कर्जा प्रवाह ३७.६० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै सिटिजन लाइफको ३१.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको २९.७६ प्रतिशत, सन नेपाल लाइफको २५.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफको २२.०२ प्रतिशत, सूर्यज्योति लाइफको २१.९८ प्रतिशत र हिमालयन लाइफको १८.२१ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी प्रभु महालक्ष्मी लाइफको १६.६९ प्रतिशत, मेट अमेरिकन लाइफको ८.६२ प्रतिशत, नेपाल लाइफको ७.५९ प्रतिशत, एशियन लाइफको ४.९१ प्रतिशत, नेशनल लाइफको २.९८ प्रतिशतले बढेको छ भने एलआईसी नेपालको ०.४१ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ७.५९ प्रतिशतले यस्तो कर्जा घटेको तथ्यांकले देखाएको छ।