लिपमोटर र सिट्रोन ब्रान्डका ईभीले चम्किदै नेपाली अटोबजार, सांग्रिला मोटर्सको व्यापारमा उछाल

७ फाल्गुन २०८१, बुधबार १६:४६

काठमाडौँ । सांग्रिला मोटर्सको व्यापारमा उल्लेख्य सुधार आएको छ । नेपाली अटो बजारमा सिट्रोन, प्यूजो र लिपमोटर ब्रान्डका गाडी बिक्री वितरण गर्दै आइरहेको मोटर्सको आम्दानीमा उछाल आएको हो ।

इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार वर्षदिनको अवधिमा कम्पनीको व्यापार १८५.७६ प्रतिशतले बढेको हो । सन् २०२३ मा २८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको सांग्रिलाले सन् २०२४ मा ८२ करोड ३० लाख रुपैयाँ पुगेको हो । कम्पनीले सन् २०२२ मा ३८ करोड ५० लाख र सन् २०२१ मा ४१ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार वृद्धिमा लिपमोटर सी १० र सिट्रोन ई–सी३ प्रमुख कारण बनेको छ ।

चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता लिपमोटरले उत्पादन गरेको सी १० मोडेल नेपाली ग्राहक माझ अत्यधिक लोकप्रिय रहँदै आएको छ । उत्कृष्ट डिजाइन, बलियो प्रदर्शन र नवीन प्रविधिका कारण ग्राहकहरू यसको विशेषताबाट आकर्षित भएका छन् । नेपाली बजारमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमध्ये सी १० अग्रस्थानमा रहँदै आएको छ, जसले सांग्रिला मोटर्सको समग्र कारोबार उकास्न मद्दत गरेको छ । लिपमोटर सी १० को मूल्य ७२ लाख रुपैयाँ रहेको छ, जसमा ६९.९ किलोवाट ब्याट्री, १६० किलोवाट पावर, ३२० एनएम टर्क, ४२० किमी रेन्ज, १९० मिमी ग्राउन्ड क्लियरेन्स जस्ता उन्नत विशेषताहरू छन् । सुरक्षा मापदण्डमा अब्बल मानिएको यो मोडेल स्टार एनक्याप सुरक्षा रेटिङयुक्त छ । उच्च गुणस्तर, उत्कृष्ट प्रविधि र आकर्षक मूल्यको कारण नेपाली बजारमा यस गाडीको माग तीव्र रूपमा बढिरहेको छ, जसले सांग्रिला मोटर्सलाई देशकै अग्रणी विद्युतीय सवारी विक्रेतामध्ये एक बनाएको छ ।

यता, सिट्रोन ई–सी३ नेपाली अटोमोटिभ क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । २९.२ किलोवाट क्षमताको ब्याट्रीसहित पूर्ण रूपमा डिसी फास्ट चार्जिङ सपोर्ट गर्ने यो पहिलो विद्युतीय कार पनि हो, जसले ३२० किलोमिटर रेन्ज प्रदान गर्छ र ५६ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ । रिजेनेरेटिभ ब्रेकिङ, ई–टगल, अटोमेटिक गियरबक्स र २६ सेन्टिमिटरको टचस्क्रिन जस्ता अत्याधुनिक फिचरले यो कारलाई थप आकर्षक बनाएको छ

व्यापारसँगै कम्पनीको आयकर, ब्याज, ह्रास र अमोर्टाइजेशनअघि आय मार्जिन सुधार हुँदै सन् २०२४ मा ५.७६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष नकारात्मक रहेको थियो । यस्तै, व्याज भुक्तानी क्षमताको मापन गर्ने ‘इन्टरस्ट कवरेज रेसियो’ सुधार हुँदै सन् २०२४ मा १.३४ गुणा पुगेको छ ।

हाल कम्पनीको कुल दायित्व र निवल सम्पत्तिको अनुपात सन् २०२४ मा ८.५१ गुणा रहेको छ । अघिल्लो वर्ष सन् २०२३ मा यो सूचक २३४.२१ गुणा थियो, जसले कम्पनीको वित्तीय जोखिममा ठूलो गिरावट आएको देखाएको छ ।

विगतका वर्षहरूमा सांग्रिला मोटर्सको वित्तीय सूचकहरू अस्थिर भए पनि पछिल्लो समयमा कम्पनीले सुधार देखाएको छ । व्यवसाय विस्तारसँगै कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको संकेत देखिएको हो ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले शांग्रिला मोटर्स प्रालिलाई विभिन्न बैंक सुविधाहरूका लागि रेटिङ प्रदान गरेको छ । कम्पनीको दीर्घकालीन बैंक सुविधालाई सिंगल बी प्लस, अल्पकालीन बैंक सुविधालाई ए फोर र दीर्घकालीन÷अल्पकालीन बैंक सुविधालाई सिंगल बी प्लस/ए फोर रेटिङ दिइएको छ । कम्पनीले १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ कर्जाका लागि बैंक रेटिङ गराएको हो । शांग्रिला मोटर्सले नेपालको अटोमोबाइल क्षेत्रमै लामो समयदेखि व्यापार सञ्चालन गरिरहेको छ ।

सिट्रोन ब्रान्डका विद्युतीय सवारीसाधनहरूले मात्र करिब ७० प्रतिशत योगदान पु¥याएका छन् । विद्युतीय सवारीसाधनहरूको उच्च माग तथा सरकारको नीतिगत समर्थनले कम्पनीलाई पुनः मजबुत बनाउने संकेत देखाएको छ । शांग्रिला मोटर्सले वित्तीय पुनरुत्थानका लागि लगानी संरचना सुदृढ पार्न, पूँजी परिचालन व्यवस्थापनलाई प्रभावकारी बनाउँदै, बजार मागअनुसार विद्युतीय सवारीसाधन आपूर्ति बढाउँदै तथा नयाँ ग्राहकलाई लक्षित गर्दै अघि बढ्ने योजना बनाएको छ । कम्पनीले सञ्चालन लागतलाई न्यून गर्दै लाभदायकता वृद्धि गर्न सकेमा निकट भविष्यमा अझ राम्रो वित्तीय प्रदर्शन हासिल गर्न सक्नेछ ।

सन् २०१६ मे २५ मा स्थापना भएको सांग्रिला मोटर्स नेपालको नयाबास, ललितपुरमा दर्ता भएको छ । कम्पनीका हालका एक मात्र सेयरधनी हेमन्त गोल्छा हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*