नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष, सिईओ र सञ्चालकहरुमा गम्भिर नैतिक बिचलन, आफ्नै कम्पनीविरुद्ध बीमा प्राधिकरणमा प्रस्ताव

काठमाडौं । नेपाल सरकारको पाँच अर्बभन्दा बढि लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीमा अध्यक्ष, सिईओ र सञ्चालकहरु मिलेर कम्पनीकै विरुद्धमा नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पेश गरेको खुलेको छ ।
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष देवराज ढुंगाना, सिईओ सुरेन्द्र थापा र सञ्चालकहरु अनिता रायमाझी, नबराज मुडवरी, मदन खरेल, दिनुका पोखरेल र दिनेशलाल श्रेष्ठले आपसी मिलेमतोमा नेपाल पुनर्बीमा कम्पनीले पाउने बैदेशिक रोजगार म्यादी बीमा पुलको कोष प्रबन्धकको जिम्मेवारी परित्याग गरेर बार्षिक करोडौं रुपैयाँ घाटा पुग्ने निर्णय गरेका छन् ।
उनीहरुले बैदेशिक रोजगार म्यादी बीमा पुलको कोष प्रबन्धकको कार्य चार बर्षसम्मका लागि निजि बीमा कम्पनीलाई सुम्पने निर्णय गराईदिन नियामक नेपाल बीमा प्राधिकरणमा सिफारिससहित पत्राचार गरेको स्रोतको दावी छ । उक्त निर्णय सञ्चालक समितिबाट पास गरेरै अघि बढाइएको दावी नेपाल पुनर्बीमा कम्पनी स्रोतले बीमापोष्टलाई जनाएको छ । सञ्चालक समितिका सदस्यहरुले आफ्नै कम्पनी विरुद्ध प्राधिकरणमा पत्राचार गर्न अनुमति दिए वा बिरोध गरे भन्ने तथ्य खुल्न बाँकी छ ।
नियामक नेपाल बीमा प्राधिकरणका अनुसार बैदेशिक रोजगार पुल कोषको प्रबन्धक भूमिका निर्वाह गर्नुपर्नेमा त्यस्तो पुलको कोष प्रबन्धकको भूमिका निर्वाह गर्ने कार्य नेपाल पुनर्बीमा कम्पनीबाट तत्काल नहुने भन्दै लिखित रुपमा बीमा प्राधिकरणमा पत्राचार गरेका थिए । नेपाल पुनर्बीमा कम्पनीको सोही पत्रको आधारमा यही फागुन ६ गते बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकबाट बैदेशिक रोजगार म्याद बीमा पुलको कोष प्रबन्धकको काम नेपाल रिले नपाउने गरी निर्देशिका समेत संशोधन गरिसकेको छ ।
विवादित बैदेशिक रोजगार म्यादी बीमा पुलबारे भएको पछिल्लो निर्णयको पृष्ठभूमि नेपाल पुनर्बीमा कम्पनीकै कारण गरिएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले स्वीकार गरेका छन् । अध्यक्ष दाहालले नेपाल पुनर्बीमा कम्पनीले बैदेशिक रोजगार म्यादी बीमा पुलको कोष प्रबन्धकको कार्यमा आफूहरु पालैपालो गर्ने र तत्कालको लागि नेपाल पुनर्बीमा कम्पनीले नेतृत्व नगर्ने गरी व्यवस्था गरिदिन लिखित रुपमा नेपाल पुनर्बीमा कम्पनीले पत्राचार गरेकोले सोही बमोजिम निर्णय गरिदिएको बताएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीबाट तलब र भत्ता खाने उनीहरुले आफ्नै कम्पनीलाई बार्षिक करोडौं रुपैयाँ घाटा हुने गरी निर्णय गरेको सम्बन्धमा अध्यक्ष देवराज ढुंगानाले कुनै प्रतिक्रिया दिन चाहेनन् । त्यस्तै, सिइओ सुरेन्द्र थापाले आफूहरुले बीमा प्राधिकरणमा पुगेर छलफल गरेको स्वीकार गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीलाई क्षति पुग्ने गरी बीमा प्राधिकरणलाई सिफारिस गर्ने को–को हो ? भन्ने बीमापोष्टको जिज्ञाशामा सिईओ थापाले भने, ‘हामीले बीमा प्राधिकरणमा छलफल गरेको हो । हस्ताक्षर गरेका जस्तो लाग्दैन, कसै न कसैले नेतृत्व गर्नुपर्ने थियो । त्यही भनेको हो । अन्यथा होइन ।’