बीमा नियमावलीमा बीमा अभिकर्ताहरूको अधिकार कुण्ठित गरिएकोमा अभिकर्ता संघको बिरोध

काठमाडौं । बीमा नियमावलीमा बीमा अभिकर्ताहरुको अधिकार कुण्ठित गरिएकोमा अभिकर्ता संघले विरोध जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेशागत बीमा अभिकर्ता संघ नेपालले जारी भएको बीमा नियमावलीले अभिकर्ताहरुलाई निरुत्साही बनाएको भन्दै बिरोध जनाएको हो ।
नियमावलीले अभिकर्ताहरुको सहजतालाई मध्यनजर गर्नुको सट्टा उल्टै अभिकर्ताले बीमा गरेका बीमितहरुले नविकरण नगरेको अवस्थामा समेत अभिकर्तालाई अप्ठ्यारो पार्ने गरी नियमावली ल्याएको पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले बताए ।
अधिकारीले भने, ‘बीमितहरुको नविकरण शुल्कमा अभिकर्ताहरुले पाउने इन्सेन्टिभलाई समते तलमाथी गर्ने गरी बाध्यात्मक अवस्था सिर्जना गर्ने कार्य यो नियमावलीले गरेको छ। यो नियमावलीको घोर भत्सना गर्दछौं।’
बीमा नियमावलीमा अभिकर्ताहरुको विषयहरु राम्रोसँग समावेश नभएको भन्दै आउँदो दिनमा विरोध तथा धर्ना लगायतका कार्यक्रमको तयारीमा पेशागत बीमा अभिकर्ता संघ रहेको अध्यक्ष अधिकारीले बताए । नियमावलीले बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरु निरुत्साहीत बनेका छन् ।