संकटमा श्रीकृष्ण स्टिल: वित्तीय सूचक दर्दनाक हुँदा ऋणको भार बढ्दै, व्याज तिर्न सक्ने क्षमता ऋणात्मक

काठमाडौं । नेपालका प्रमुख इस्पात उत्पादकमध्ये एक श्रीकृष्ण स्टिल इन्डस्ट्रीज प्रालि गम्भीर वित्तीय संकटमा फस्दै गएको छ । अन्य स्टील कम्पनीसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुुगेको हो ।
दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीको वित्तीय स्थिति पछिल्ला तीन वर्षदेखि निरन्तर कमजोर देखिएको छ । आय आर्जन निरन्तर घट्दो क्रममा रहँदा कम्पनीको ऋणभार उचालिएको छ भने मुनाफा सुस्ताएको छ ।
कम्पनीको कुल आम्दानी घटेर सन् २०२४ मा घटेर ८४ करोड रुपैयाँमा समिति भएको छ । जुन सन् २०२३ को तुलनामा २.६६ प्रतिशतले कम हो । कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख र सन् १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।
सञ्चालन मुनाफा मार्जिन अघिल्ला दुई वर्षदेखि नै नकारात्मक अवस्थामा पुगेको छ, जसले कम्पनीको कमजोर सञ्चालन क्षमतालाई देखाएको छ । ऋणको भार अत्यधिक बढ्दै कुल ऋण अनुपात १७.७४ गुणासम्म पुगेको छ, जुन आर्थिक जोखिमका दृष्टिले गम्भीर संकेत हो ।
सञ्चालन आम्दानी ओरालो लागिरहँदा कुल दायित्व र मूर्त नेटवर्थ झन् बिग्रँदै १८.२० गुणासम्म पुगेको छ । कम्पनीले व्याज तिर्न सक्ने अवस्था नरहेको देखिन्छ, किनकि चुक्तानी क्षमता अघिल्ला दुई वर्षदेखि नै नकारात्मक छ ।
यस्तै, कुल ऋण र नगद आम्दानी अनुपात समेत अत्यधिक नकारात्मक भएको छ । बढ्दो ऋणभार, कमजोर आम्दानी र नकारात्मक लाभांशका कारण कम्पनीको भविष्य अन्योलपूर्ण बन्दै गएको छ ।
केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंक ऋणलाई ‘केयर एनपि बि प्लस’ र अल्पकालीन बैंक ऋणलाई ‘केयर एनपि ए४’ मा पुनः पुष्टि गरेको छ । कम्पनीको लगानी जोखिमपूर्ण देखिएकाले यसको ऋण संरचना सुधार्न नसके आगामी दिनमा थप दबाब पर्ने देखिन्छ ।
हाल कम्पनीको दीर्घकालीन बैंक ऋण ४७३.८० मिलियन रुपैयाँ पुगेको छ, जुन अघिल्लो १६१.४५ मिलियन रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो भने अल्पकालीन बैंक ऋण ९४० मिलियन रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो १,२५३.३५ मिलियन रुपैयाँको तुलनामा केही घटाइएको हो ।
कम्पनीको वित्तीय जोखिम उच्च देखिएको छ, किनकि यसको ऋण अनुपात निकै बढेको छ र बिक्री राजस्व लगातार घटिरहेको छ । सन् २०२४ मा पनि कम्पनीको आय मध्यमस्तरमै सीमित रह्यो, जसले ऋण चुक्ता गर्ने क्षमतामा थप दबाब सिर्जना गरिरहेको छ । नेपालमा इस्पात उद्योग प्रतिस्पर्धात्मक र खण्डीकृत भएकाले बजार मागमा अस्थिरता देखिएको छ, जसले कम्पनीको अवस्थालाई थप कमजोर बनाउने संकेत गरेको छ ।
इन्डस्ट्रीजको व्यापार सञ्चालन अत्यधिक कार्यशील पूँजीमा निर्भर रहेको छ, कच्चा पदार्थको मूल्य अस्थिर छ र विदेशी मुद्रा उतारचढावको जोखिम पनि रहेको छ ।
श्रीकृष्ण स्टिल इन्डस्ट्रीजको कारखाना जीतपुर, बारामा स्थित छ, जुन बिरगन्ज ड्राइ पोर्टबाट लगभग १५ किलोमिटर टाढा रहेको छ । कम्पनीले प्रयोग गर्ने अधिकांश कच्चा सामग्री भारतबाट आयात गरिन्छ र कारखानाको सिमानासँगको नजिकको स्थानले ठूलो ढुवानी लागत बचत गर्न मद्दत पुर्याउँछ ।
श्रीकृष्ण स्टिलले पाइप, चादर र अन्य सहायक उत्पादनहरू नारायणी स्टील्स ब्राण्ड नाम अन्तर्गत बिक्री गर्छ, जुन नेपाल बजारमा दीर्घकालिक उपस्थितिको कारण एक स्थापित ब्राण्ड बनेको छ। यसले कम्पनीलाई नयाँ प्रतिस्पर्धीहरूको सामु एक प्रतिस्पर्धात्मक फाइदा दिन्छ।
कम्पनीको समूहसँग काठमाडौं उपत्यका र वरिपरिका १५ वटा आफ्नै हार्डवेयर व्यापार आउटलेट छन् र नेपालभरि १२९ क्षेत्रमा स्थापित डीलर÷वितरक सञ्जाल पनि छ, जसले कम्पनीलाई तैयार बजार उपलब्ध गराउँछ ।