बीमा दोकानद्वारा आयोजित इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न, हिमालयन एभरेष्ट विजेता

काठमाडौं । बीमा दोकानद्वारा आयोजित दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ। जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनीहरू गरी ११ ओटा बीमा कम्पनीको सहभागिता रहेको प्रतियोगिता वैशाख ७ र ८ गते काठमाडौंमा चलेको थियो।
प्रतियोगिताको पहिलो दिन लिग चरण र नकआउट खेलहरू गरी जम्मा १० खेल भएकोमा तीन कम्पनी नकआउट हुँदै प्रतियोगिताबाट बाहिरिए। दोस्रो दिन क्वाटर फाइनलमा ८ ओटा टोली भिडे र जसबाट हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स फाइनलमा प्रवेश गर्न सफल भएका थिए।
फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्यो। जितसँगै टोलीले ट्रफीसहित ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता बनेको हिमालयन लाइफ इन्स्योरेन्सले १५ हजार रुपैयाँ नगद, मेडल र सिल्ड प्राप्त गरेको छ।
प्रतियोगिताको उद्घाटन एन्फा महासचिव किरण राईले गरेका थिए भने समापन समारोहमा नेपाल बीमा प्राधिकरणका प्रवक्ता तथा निर्देशक निर्मल अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी थिए। उनले नै विजेता तथा उपविजेता टोलीलाई ट्रफी, सिल्ड, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए।
खेलमा सहभागी टोलीहरूको उच्च मनोबलका साथै कर्मचारी र व्यवस्थापन तहका वरिष्ठ व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टुर्नामेन्टले बीमा क्षेत्रमा आपसी सहकार्य, भाईचाराको भावना र शारीरिक स्फूर्तिका साथै समन्वयको सन्देश दिएको आयोजकले जनाएका छन्।