जीवन बीमा कम्पनीको व्यवसाय १४ %ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, बृद्धिदरमा रिलायबल आक्रामक

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक बर्षमा १ खर्ब १० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार १४ जीवन बीमा कम्पनीको व्यवसा गत आवको तुलनामा १४.६२ प्रतिशतले बृद्धि भएको छ ।
समीक्षा अवधिमा बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स र गत आवको तुलनामा व्यवसाय बृद्धिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेको छ।सबैभन्दा बढी व्यवसाय गरेको नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १२ प्रतिशतले बढेर ३३ अर्ब रुपैयाँ रहेको छ।
दोस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय २१ प्रतिशत र तेस्रो स्थानमा रहेको एलआइसी नेपालको कुल बीमा शुल्क आर्जन नौ प्रतिशतले बृद्धि भएको छ ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय ४९ प्रतिशतले सबैभन्दा बढी अंकले बृद्धि भएको छ । त्यस्तै, व्यवसाय बृद्धिको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको २३ प्रतिशत र तेस्रो नम्बरमा रहेको नेशनल लाइफको २१ प्रतिशतले बढेको छ ।
प्रभु महालक्ष्मी लाइफ र सिटिजन लाइफको १९ प्रतिशत, सूर्यज्योति लाइफको १७ प्रतिशत, आइएमई लाइफको १४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १३ प्रतिशत, एशियन लाइफको ११ प्रतिशत, सन नेपाल लाइफको १० प्रतिशत, मेट लाइफको ७ र हिमालयन लाइफको २ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।