महिन्द्रा गाडीमा दुगड ब्रदर्सको ठगीः अत्याधिक मुनाफा असुल्दा वाणिज्य विभागको कारबाहीमा

२४ बैशाख २०८२, बुधबार ११:४८

काठमाडौँ । व्यवसायिक प्रयोजनाका लागि महिन्द्रा तथा मास्टर एण्ड एशोसररिज र महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एण्ड सन्स प्राइभेट लिमिटेडले उपभोक्ता मार्फत अत्याधिक मुनाफा असुल्ने गरेको खुलासा भएको छ ।

उपभोक्ताको हकहित र विश्वासमा प्रहार गर्दै आएको एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स अन्ततः सरकारी कारबाहीको फन्दामा परेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई प्रत्यक्ष मार पर्ने किसिमको ठगी गरेको प्रमाण भेटिएपछि कम्पनीलाई तीन लाख रुपैयाँ जरिबाना गरेको हो ।

विभागका अनुसार बैशाख २२ गते सोमबारका दिन काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित कम्पनीको अटो उद्योगमा अनुगमन गरिँदा उपभोक्ताको अधिकारविपरीत काम गरिएको पाइएको हो । कम्पनीले बिक्रीमा राखिएका सवारीसाधन तथा पार्टपुर्जामा रिलेबलिङ (पुनः लेबल टाँस्ने), वस्तुको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा मनोमानी गरी ठगी गरेको पाइएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसारको कसुर र सोही ऐनको दफा ३९ को उपदफा (१) (ख) अनुसार कारबाही गरिएको जनाएको छ ।

यति धेरै गुनासो र उजुरी आइरहेका बेला समेत कम्पनीले उपभोक्तालाई जानकारी नदिई मूल्यमा मनपरी हिसाबले सामान बेचेको, लेबल हेरफेर गरेर वस्तुको यथार्थ विवरण लुकाएको र उत्पादनको गुणस्तरबारे भ्रम सिर्जना गरेको पाइएको हो । विभागका निरीक्षकहरूले घटनास्थलमै मूल्यसूची, स्टक विवरण, बिलिङ प्रणालीलगायतका कागजात जाँच गर्दा कम्पनीले उपभोक्तालाई ठग्ने नियतसाथ गलत अभ्यास गरेको पुष्टि भएको हो ।

एमभी दुगड समूह नेपालको पुरानो व्यापारिक समूह भए पनि पछिल्लो समय यसअन्तर्गतका उद्योग तथा कम्पनीहरू उपभोक्ता ठगी, गुणस्तरहीन सेवा र मूल्यवृद्धिको आरोपमा विवादित बन्दै गएका छन् । विशेषगरी सवारी साधन, निर्माण उपकरण र स्पेयर पाट्र्स बिक्री तथा सेवा दिने डुगर ब्रदर्स एण्ड सन्सले बजारमा आफूलाई महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक विक्रेता भन्दै दाबी गरे पनि व्यवहारमा भने उपभोक्ताको हितभन्दा आफ्नै नाफामा केन्द्रित भएको देखिएको छ ।

दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि. को स्थापना सन् २०१५ जुलाई ८ (वि.सं. २०७२ असार २३) मा भएको हो । कम्पनीले देशभर २१ वटा दुईपांग्रे सवारीका डिलरहरू, १५ वटा महिन्द्रा सवारीका डिलरहरू र आफ्नै सञ्चालनमा रहेका २२ वटा शोरूमहरूबाट कारोबार गर्दै आएको छ ।

तर यति ठूलो नेटवर्क र समूहको संरचनामा रहेर पनि कम्पनी उपभोक्ता अधिकारमाथि खेलबाड गर्न पछि परेको छैन । विभागले गरेको अनुगमनबाट उद्योगले बिक्री गर्न लागिएका सामग्रीमा वास्तविक मूल्य नदेखाई र बदलिएको लेबल प्रयोग गरी उपभोक्तालाई भ्रममा पारी महङ्गोमा सामान बिक्री गर्ने गरेको छ । यो प्रस्ट रूपमा नियोजित व्यावसायिक ठगी हो, जसको असर हजारौं उपभोक्तामाथि परेको छ ।

दुगड ब्रदर्स यसअघि रोयल इनफिल्ड र अप्रिलिया बेच्दै आएपनि सो ब्रान्ड खोसिएको थियो । कम्पनीका अध्यक्ष मोतिलाल दुगडको नेतृत्वमा सञ्चालन हुँदै आएको दुगड ब्रदर्स एण्ड सन्सप्रति यति गम्भीर प्रकृतिको ठगी उजागर हुँदा पनि कम्पनीको पक्षबाट कुनै माफीनामा वा जिम्मेवारी लिएको प्रतिक्रिया आएको छैन । बजारमा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक समूहहरूले उपभोक्तालाई ठग्ने, मूल्यमा पारदर्शिता नदेखाउने, गुणस्तरमा सम्झौता गर्ने प्रवृत्तिले अर्थतन्त्र र जनविश्वासमा गम्भीर क्षति पु¥याउँछ । अझ उत्पादन र सेवा क्षेत्रमा यस्तो किसिमको व्यवहारले प्रतिस्पर्धा नै अस्वस्थ बनाउँछ र इमान्दार व्यवसायीहरूलाई हतोत्साहित गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*