उपभोक्तामा विद्युतीय गाडीको मोहः ईभीले भरिँदै अटो बजार, कुन ब्रान्ड लोकप्रिय ?

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । उपभोक्ताहरू पेट्रोलियम गाडीहरू भन्दा वातावरणमैत्री, सस्तो सञ्चालन खर्च हुने र न्यून मर्मत लागत भएका विद्युतीय गाडी रोज्न थालेका छन् । विशेषगरी सहर क्षेत्रदेखि ग्रामीण भेगसम्म विद्युतीय गाडीको प्रयोग विस्तार हुँदै गएको छ । यसले गर्दा सवारी साधन बजारमा विद्युतीय मोडेलहरूको प्रतिस्पर्धा समेत बढाएको छ ।
बजारमा प्रवेश गरिरहेका नयाँ–नयाँ मोडेलहरू, ब्याट्री प्रविधिमा आएको सुधार, सहज चार्जिङ सुविधा र सरकारको नीति सुधारसँगै नेपालमा विद्युतीय सवारीको क्रेज दिन–प्रतिदिन बढ्दो छ । पेट्रोल र डिजल गाडीको तुलनामा विद्युतीय गाडीमा इन्जिन आयल, गियर बक्स, फिल्टर जस्ता परम्परागत मर्मतका काम आवश्यक पर्दैनन् । यसको प्रत्यक्ष लाभ उपभोक्ताले दैनिक जीवनमा महसुस गर्न थालेका छन् । त्यसमाथि इन्धनको मूल्य वृद्धिले सताएका उपभोक्ताहरूका लागि विद्युतीय गाडी लागत घटाउने आकर्षक विकल्पका रूपमा देखिन थालेको छ ।
साथै, बढ्दो प्रदूषण र वातावरणीय असरबारे जनचेतनाको विकाससँगै विद्युतीय सवारीलाई हरित भविष्यतर्फको कदमको रूपमा समेत हेरिएको छ । कार्बन मोनोअक्साइड लगायतका हानिकारक ग्यासहरू उत्सर्जन नगर्ने हुँदा यी गाडीहरू पर्यावरणमैत्री बनेका छन् । यही कारणले गर्दा सरकार, व्यवसायी, वित्तीय संस्था र उपभोक्ताहरू सबैको ध्यान विद्युतीय सवारीतर्फ केन्द्रित भइरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगले देशको व्यापार घाटा समेत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालले पेट्रोलियम इन्धनमा ठूलो मात्रामा आयात गर्ने भएकोले ईभीको बढ्दो प्रयोगले आयात खर्च घटाउने सम्भावना प्रवल छ । यो देशको समष्टिगत अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । नेपाल सरकारको भन्सार विभागका अनुसार, आर्थिक वर्ष २०८१÷८२ को चैत महिनासम्म १८ अर्ब ६२ करोड रुपैयाँ बराबरका ७ हजार ९ सय ६७ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । तीमध्ये सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडी छन्, जसको संख्या ४ हजार ४ सय १४ रहेको छ । यिनको कुल मूल्य १० अर्ब ९४ करोड रुपैयाँ नाघेको छ ।
बजारमा विद्युतीय सवारीप्रति चासो बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले ईभी खरीदका लागि सहज ऋण उपलब्ध गराइरहेका छन् । यद्यपि नेपाल राष्ट्र बैंकले ईभीमा दिइने ऋण सीमा ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारे पनि व्यवहारमा यसको प्रभाव त्यति व्यापक देखिएको छैन । धेरै बैंक तथा लिजिङ कम्पनीहरूले अझै पनि ७०–८० प्रतिशतसम्म ऋण उपलब्ध गराइरहेका छन् । उपभोक्ताहरूको माग उच्च रहेकोले वित्तीय संस्थाहरू ईभी सेग्मेन्टमा आक्रामक रुपमा देखिएका छन् ।
नेपालको ईभी बजारमा प्रमुख रूपमा चिनियाँ र भारतीय ब्रान्डहरू सक्रिय छन् । विशेषगरी चिनियाँ ब्रान्डहरूले नेपालमा उल्लेखनीय स्थान बनाएका छन् । चीनको बिवाइडी ब्रान्ड अत्यन्त लोकप्रिय बनेको छ । बिवाइडीले नेपालमा डल्फिन, अटो थ्रि र सिल मोडेलहरू ल्याएको छ । तीमध्ये बिवाइडी डल्फिन सस्तो मूल्य, राम्रो ब्याट्री रेंज र आकर्षक डिजाइनका कारण सर्वाधिक बिक्री हुने मोडेल बनेको छ । अटो थ्रि र सिल जस्ता मोडेलहरू भने मिड–रेंज र लग्जरी सेग्मेन्टका लागि उपयुक्त मानिन्छन् । ब्याट्री प्रविधिमा बिवाइडी अग्रणी रहेको र उसले प्रयोग गर्ने ब्लेड ब्याट्री सुरक्षित र टिकाउ मानिएको छ ।
त्यस्तै, चिनियाँ नेटा ब्रान्ड पनि नेपाली बजारमा चर्चा बटुल्न सफल भएको छ । नेटा एक्स र नेटा भि मोडेलहरू सस्तो मूल्य र अत्याधुनिक प्रविधिसहित बजारमा आएका छन् । विशेषगरी नेटा एक्स मोडेल एसयुभी स्वरूपको गाडी हो, जुन शहर तथा ग्रामीण दुबै भूगोलमा सहज चलाउन सकिने बनाइएको छ । यसमा प्रयोग भएको ब्याट्रीको रेंज प्रतिस्पर्धी ब्रान्डहरूको तुलनामा सशक्त देखिन्छ । डिजाइनको हिसाबले पनि यो गाडी धेरैलाई मन परेको छ ।
अन्य चिनियाँ गाडीहरूमा दिपलको सेरेस थ्री र स्काईवेल मोडेलले समेत नेपाली बजारमा उपस्थिति जमाएका छन् । यी गाडीहरू मूल्यका हिसाबले तुलनात्मक रूपमा सस्ता छन् भने प्राविधिक हिसाबले भरपर्दा र प्रयोगमैत्री मानिन्छन् । चिनियाँ कम्पनीहरू उत्पादन लागत कम गर्न सिपालु भएकाले ती गाडीहरूको मूल्य नेपाली उपभोक्ताको पहुँचमा छ । साथै, यिनीहरूको मर्मत खर्च पनि न्यून हुने भएकाले बजार विस्तारमा थप टेवा पुगेको छ ।
चीनसँगै भारतका विद्युतीय गाडी निर्माताहरूले पनि नेपालमा बलियो पकड बनाएका छन् । प्रमुख रूपमा टाटा ब्रान्डका गाडीहरू नेपालमा सर्वाधिक रुचाइएका छन् । सिप्रदी ट्रेडिङमार्फत नेपाली बजारमा वितरण हुने टाटा टियागो ईभी र टाटा नेक्सन ईभी मोडेलहरूले सहरदेखि पहाडसम्मका उपभोक्ताको मन जितेका छन् । टाटा टियागो ईभी सानो परिवारका लागि आदर्श मोडेल हो । सस्तो मूल्य, सहज चार्जिङ सुविधा र दैनिक प्रयोगका लागि पर्याप्त ब्याट्री रेंज यसका मुख्य विशेषता हुन् । टाटा नेक्सन ईभी चाहिँ ठूलो साइजको एसयुभी हो, जुन यात्राको दृष्टिले निकै आरामदायी र सुरक्षित गाडी मानिन्छ । यसमा प्रयोग भएका फिचरहरू र सुरक्षा मापदण्ड नेपाली सन्दर्भमा प्रभावकारी देखिएका छन् ।
भारतीय ब्रान्ड महिन्द्राले पनि नेपालमा आफ्नो विद्युतीय उपस्थिति बलियो बनाउने प्रयास गर्दै आएको छ । महिन्द्राको ई२ओ प्लस मोडेल विशेषगरी बजेट सेग्मेन्टका लागि ल्याइएको हो । यसको मूल्य सस्तो छ भने सहरभित्रका दैनिक यात्राका लागि पर्याप्त रेंज पनि दिइएको छ । त्यस्तै, महिन्द्राको एक्सयूभी ४०० मोडेल एसयुभी श्रेणीमा पर्दछ, जसले उच्च ब्याट्री रेंज र आकर्षक डिजाइनसहित प्रतिस्पर्धा गरिरहेको छ । विशेषगरी यात्रामा सन्तुलन, गति नियन्त्रण र स्मार्ट फिचरहरूका कारण यो गाडी युवा पुस्तामा लोकप्रिय हुँदै गएको छ ।
यसका अतिरिक्त, एमजी र हुन्डाई जस्ता विश्वप्रसिद्ध ब्रान्डका इभी मोडेलहरू पनि नेपाली बजारमा सक्रिय छन् । एमजीको जेडएस ईभी मोडेल उच्च रेंज, पावरफुल मोटर र स्मार्ट इन्टेरियर डिजाइन्सहित उपलब्ध छ । हुन्डाईको कोना इलेक्ट्रिक गाडी चाहिँ आफ्नो दमदार डिजाइन र सुविधा सम्पन्न प्रविधिका कारण बढी रुचाइएको छ । यी गाडीहरूको मूल्य अलिक माथि भए पनि इन्टरन्याशनल ब्रान्डको विश्वास र गुणस्तरकै कारण नेपाली ग्राहकले प्राथमिकता दिएका छन् ।
नेपालको विद्युतीय सवारी बजारले पछिल्ला वर्षहरूमा लिएको उचाइ निकै उत्साहजनक छ । विद्युतीय गाडीमा उपभोक्ताको विश्वास, वित्तीय पहुँच र बजारमा भएको विविधताले गर्दा यो क्षेत्र भविष्यमा झनै बलियो हुने अपेक्षा गरिएको छ । सरकार तथा निजी क्षेत्रले संयुक्त रुपमा प्रवद्र्धन गरेमा नेपालमा विद्युतीय सवारीको युग स्थायीत्वतर्फ अग्रसर हुने निश्चित देखिन्छ ।
ईभीको ब्यवसायमा रफत्तार देखिएको भएपनि इन्धन गाडिको ब्यवसाय भने निरन्तर खुम्चिदै गएको छ । इन्धन गाडि ब्यवसायीहरु ब्यवसाय नै बन्द गरेर विदेशीने अवस्था सिर्जना भएको नाडाका अध्यक्ष करण चौधरीले बताए । उनले भने, ‘अटोमोबाइलको ब्यवसाय ईभी मात्रै होइन । ईभीको ब्यवसाय सन्तोषजनक भएपनि अन्य ब्यवसाय बन्द हुने अवस्था आइसकेको छ । कयौ ब्यवसायीहरु आफ्नो ब्यवसाय बन्द गरेर विदेशी समेत पलायन भइसकेका छन् ।’
इन्धन गाडिको ब्यवसाय भने बन्द हुने अवस्था सिर्जना भइसकेको नारायणी अटो बिजनेस प्रालिका प्रबन्ध निर्देशक तथा सीइओ अनुप कुमार बरालले बताए । उनले भने, ‘इन्धन गाडिको ब्यवसाय निरन्तर सुस्ताएको छ । एकदमै खराब अवस्था इन्धन गाडि ब्यवसायीहरुको रहेको छ । बजेट, वित्तीय नीतिले गर्दा समेत अहिले झन खराब अवस्थामा ब्यवसाय रहेको छ । जसले ब्यवसाय माथि उठ्न सकेको छैन ।’
के विद्युतीय कारका ब्याट्री छिट्टै बिग्रन्छन् ? यस्तो छ तथ्य