सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् ।
नेपाली बीमा क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं मानिसहरुले जीवन बीमा गरेर आफ्नो जीवन रक्षावरणको जिम्मा लगाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारीएको,
चुक्ता पुँजी
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी नौ अर्ब दुई करोड ८७ लाख रुपैयाँ रहेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, तेस्रोमा रहेको एलआइसी नेपालको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा यस कम्पनीले हकप्रद शेयर निष्काशन गरी नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याएको हो ।
जीवन बीमा कोष
समीक्षा अवधिमा उल्लेखित कम्पनीहरुलाई जीवन बीमा कोषको आधारमा दाजेर हेर्दा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले जीवन बीमा कोषमा दुई खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ ।
दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २९ अर्ब ८० करोड ९३ लाख रुपैयाँ रकम संचिती रहेको छ । त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोषमा ८१ अर्ब ३२ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ ।
रिटर्न अर्निङ
तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा रिटर्न अर्निङमा एलआइसी नेपाल सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा उक्त कोषमा तीन अर्ब ३७ करोड ३९ लाख रुपैयाँ संचित गरेको छ । दोस्रो नम्बरमा रहेको नेपाल लाइफको उक्त कोषमा एक अर्ब १८ करोड ३८ लाख रुपैयाँ र नेशनल लाइफको ८८ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कुल बीमा शुल्क आर्जन
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा शुल्कको आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ३२ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १४ अर्ब तीन करोड ८९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
खुद नाफा
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुको मुनाफामा वृद्धि भएको् छ । यस अवधिमा खुद नाफाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ६५ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफको मुनाफा ४० करोड ८५ लाख रुपैयाँ र एलआइसी नेपालको मुनाफा २३ करोड ६० लाख आर्जन गरेको छ । यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
कुल बीमा दावी भुक्तानी
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा दाबी भुक्तानीमा नेपाल लाइफ अगाडि रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले ११ अर्ब १९ करोड १४ लाख रुपैयाँको कुल दावी भुक्तानी गरेको छ । नेपाल लाइफ व्यवसायिक रुपले अगाडि भएको कारण कम्पनीको कुल बीमा दाबी भुक्तानी पनि बढी देखिएको हो ।
त्यस्तै, यस अवधिमा एलआइसी नेपालले आठ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले सात अर्ब ७४ करोड ३९ रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ ।
कुल खर्च
समीक्षा अवधिमा खुल खर्चमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । विभिन्न शिर्षकमा कम्पनीले यस अवधिमा ४४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले २१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ र नेशनल लाइफले १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ कुल खर्च गरेका छन् ।
बीमालेख संख्या
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफमा तीन लाख ७४ हजार वटा बीमा गरिएको अवस्था छ । साथै ६ महिनाको अवधिमा एलआइसी नेपालमा २९ हजार ५९ वटा र हिमालयन लाइफमा २० हजार ६६४ वटा बीमा गरिएको छ ।
प्रति शेयर आम्दानी
प्रति शेयर आम्दानीको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा नेशनल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४९ पैसा रहेको छ । दास्रोमा रहेको नेपाल लाइफको नौ रुपैयाँ ६३ पैसा तेस्रो स्थानमा रहेको एलआइसी नेपालको ६ रुपैयाँ २९ पैसा मात्र छ ।
:उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।