जीवन बीमा कम्पनीको खुद नाफा ११ %ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा एशियन, रिलायबल र सूर्यज्योति लाइफअघि

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९० प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब ८८ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले चार अर्ब ३६ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र व्यवसाय वृद्धिदरको आधारमा एशियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । कम्पनीहरुले आफ्ना अभिकर्ताहरुलाई सक्रिय बनाउँदै व्यवस्थानमा सुधार दिदाँ वित्तीय प्रगती हासिल गरेका हुन् ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ८.६४ प्रतिशत बढी रहेको छ
साथै, दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ८.४९ प्रतिशतले बृद्धि भई ४३ करोड ५४ लाख रुपैयाँबाट ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफले छोटो अवधिमा नै उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा,
त्यस्तै, चालु आवको चैत मसान्तसम्ममा नेशनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्सले ३३ करोड ७६ लाख रुपैयाँ र एशियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख रुपैयाँ, एलआइसी नेपालले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा रहेको छ ।
बृद्धिदरको आधारमा
गत आर्थिक वर्षको तुलनामा एशियन लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । एशियन लाइफ इन्स्योरेन्स मुनाफा ५९.५१ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।
त्यस्तै, दोस्रो नम्बरमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको खुद नाफा ३६ प्रतिशतले बृद्धि भएको छ भने तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफको मुनाफा ३१ प्रतिशतले बृद्धि भएको छ ।