‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकोस्ः प्रधानमन्त्री ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको पाँचौं वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भएको छ।
प्रधानमन्त्री ओलीले आर्थिक क्षेत्रको विषयमा सत्य तथ्य, ताजा, विश्लेषणात्मक समाचार र विचारमार्फत बीमा, बैंक, वित्तीय संस्था तथा आर्थिक क्षेत्रका पाठकलाई सुसूचित गर्दै बीमाको दायरा फराकिलो पार्ने कार्यमा उल्लेखनीय भूमिका खेल्न सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको शुभकामना सन्देशः
शुभकामना
नेपाली बीमा क्षेत्रको अग्रणी सञ्चार माध्यम राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित बीमापोष्ट डटकम (beemapost.com) ले यही वैशाख ३१ गते स्थापनाको पाँचौं वार्षिकोत्सव मनाउन लागेको थाहा पाउँदा खुसी लागेको छ ।
बीमापोष्ट डटकमले मुलुकको आर्थिक क्षेत्रको विषयमा सत्य तथ्य, ताजा, विश्लेषणात्मक समाचार र विचारमार्फत बीमा, बैंक, वित्तीय संस्था तथा समग्र आर्थिक क्षेत्रका पाठकहरू लगायत आम जनतालाई सुसूचित गर्दै आम सञ्चारजगतको क्षेत्रमा पुर्याउँदै आएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दछु ।
सरकारले आम सञ्चारको विकासका लागि सूचना प्रवाहको पहुँचमा विस्तार, डिजिटल रूपान्तरण, सञ्चार क्षेत्रको पूर्वाधार विकासका साथै समावेशी सञ्चार प्रणाली निर्माण लगायतका कार्यहरूमार्फत पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न नीति निर्माण तथा कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिरहेको छ । पछिल्लो समय अनलाईन सञ्चार माध्यमहरूको प्रयोग व्यापक र फराकिलो बनेको छ। बीमापोष्ट डटकमले बीमासम्बन्धी सत्य तथ्य, सकारात्मक र आशावादी सूचना प्रवाहमार्फत बीमा क्षेत्रको समग्र विकास र आम नागरिकमा यसको समान पहुँचबारे जानकारी गराउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्दछु ।
अन्त्यमा, बीमापोष्ट डटकमले मनाउँदै गरेको पाँचौं वार्षिकोत्सवको अवसरमा बीमापोष्ट डटकमका सम्पादक, पत्रकार, कर्मचारी, लेखक, पाठक र सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
केपी शर्मा ओली
२०८२ साल वैशाख ३०