सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न बीमापोष्टले पुर्याएको योगदान महत्वपूर्णः अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमापोष्टको पाँचौं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नमा बीमापोष्टले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ।
अर्थमन्त्री पौडेलले बीमापोष्टले बीमाको पहुँच र दायरा विस्तार लगायत बीमा क्षेत्रका समस्या, चुनौती र सुधारका पहललाई जनता समक्ष सम्प्रेषण गरी महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै आगामी दिनमा अझै उत्कृष्ट रूपमा प्रस्तुत हुने विश्वास समेत व्यक्त गर्नु भएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिनुभएको शुभकामना सन्देशः
शुभकामना
बीमा, बैंक तथा वित्तीय क्षेत्रलाई केन्द्रित गरी प्रकाशन हुँदै आएको बीमापोष्ट डटकम चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
आर्थिक, प्राकृतिक, सामाजिक एवम् अन्य कारणबाट उत्पन्न हुने जोखिमलाई बीमाको दायरामा ल्याई वित्तीय जोखिम न्यूनीकरण गर्न सरकारले उच्च प्राथमिकता दिएको छ। ग्रामिण एवम् शहरी क्षेत्रमा बीमाको सहज पहुँच पुर्याउने, शीघ्र दावी भुक्तानी व्यवस्था मिलाउन नियमनलाई समेत जोड दिएको छ। सरकारको यो प्रयासबाट करीब ४४ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको छ।
बीमापोष्टले बीमाको पहुँच एवम् दायरा विस्तार लगायत यस क्षेत्रका समस्या, चुनौती र सुधारका पहल सम्बन्धी सूचना, विचार र विश्लेषण प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रबाट भएका सुधारका क्रियाकलापहरूलाई जनता समक्ष सम्प्रेषण गरी सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नमा पुर्याएको योगदान महत्वपूर्ण रहेको छ। आगामी दिनमा पनि यस अनलाइन अझ परिष्कृत र परिपक्व रूपमा प्रस्तुत हुने विश्वास समेत लिएको छु।
अन्त्यमा, पाँचौ वार्षिकोत्सवका अवसरमा बीमापोष्ट परिवारको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु।
विष्णुप्रसाद पौडेल
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री
२०८२, वैशाख