जलवायु परिवर्तन र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण बीमा अपरिहार्य : बीमक संघ अध्यक्ष क्षेत्री

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदावार क्षेत्रीले नेपालजस्तो जोखिमपूर्ण भौगोलिक संरचना र बदलिँदो जलवायु परिस्थितिका कारण बीमा अत्यावश्यक भएको बताएका छन् ।
नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जलवायु परिवर्तनका कारण दिनप्रतिदिन जोखिम बढिरहेको र यस्तो अवस्थामा बीमाको भूमिका झनै महत्वपूर्ण बन्न गएको उल्लेख गरे ।
उनले भने, ‘जनतामा पर्ने आर्थिक हानि र नोक्सानीलाई बीमा कम्पनीमार्फत सहजै हस्तान्तरण गर्न सकिन्छ । तर, नेपाल सरकारले आफैं पूर्वाधारको बीमा नगरेको अवस्था चिन्ताजनक छ ।’
क्षेत्रीले नेपाल सरकारले नै बीमाप्रति आवश्यक उदारता नदेखाएको आरोप लगाए । हालसम्म देशको ५० प्रतिशत जनसंख्यामा पनि बीमाको पहुँच पुग्न नसकेको प्रति उनले दुख ब्यक्त गरे ।
उनले बीमा दायरा बढाउनका लागि बीमा प्राधिकरण अझ सक्रिय भएर नीति निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याए । ‘बीमा जनताको घरदैलोमा पुर्याउने गरी प्राधिकरणले प्रभावकारी नीति ल्याउनुपर्छ’ क्षेत्रीले भने ।