प्राकृतिक प्रकोपको बोध कम गर्न बीमामार्फत जोखिम बहन गराउनु पर्दछः कामु गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले प्राकृतिक प्रकोपबाट हुने क्षतिको जोखिम कम गर्न बीमा प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याएकी छन् ।
नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढुंगानाले बीमामार्फत जोखिमको वहन गराउन सकिने हुँदा यसप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हाम्रोजस्तो देशमा समय समयमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप आइरहन्छन् । यस्तो अवस्थामा बीमाले नागरिकलाई आर्थिक सुरक्षाको अनुभूति गराउँछ ।’
कामु गभर्नर ढुंगानाले लगानी र उद्यमशीलता प्रवर्द्धनका लागि उत्पादन र उत्पादकत्वको सुरक्षामा बीमाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।
उनले बीमालाई अझ प्रभावकारी बनाउने उपायका रूपमा डिजिटल माध्यमबाट बीमा दाबी प्रक्रिया, जोखिम मूल्याङ्कन तथा प्रिमियम तिर्ने सुविधालाई प्राथमिकता दिनुपर्ने बताइन् ।
बीमा क्षेत्रको विश्वसनीयता कायम गर्न बीमा दाबी भुक्तानी समयमा नै गरिनुपर्नेमा उनले जोड दिइन् । त्यस्तै, बीमा शिक्षाको अभिवृद्धि र सम्पत्ति शुद्धिकरणमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताइन् ।