बीमाको पहुँच ४४.६४ प्रतिशत जनतामा फैलियो, अझै अनिवार्य बीमाकै भर

७ जेष्ठ २०८२, बुधबार १२:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले बीमाको पहुँच ४४.६४ प्रतिशत नेपालीमा पुगेको देखाएको हो । यद्यपि उक्त तथ्याङ्कमा सरकारले गरेको अनिवार्य बीमामै निर्भर रहेको छ ।

प्राधिकरणका अनुसार बीमाको पहुँचमा ठूलो विस्तार भएको देखिए पनि अझै ५५.३६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर अझै रहेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । सरकारले अनिवार्य गरेको क्षेत्र बैदेशिक रोजगार म्यादी बीमा र सवारी साधनको तेस्रो बीमा अनिवार्य छ । त्यस्तै, उक्त तथ्याङ्कमा कर्णाली सरकारले गरेको सबै जनताको एक लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमाको विवरण समावेश गरिएको छ वा छैन भन्ने एकिन छैन ।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख घटाउँदा जीवन बीमा र निर्जीवन बीमाको पहुँच भने १६.४८ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको देखिएको छ भने वैदेशिक रोजगार जीवन बीमलेख बाहेकको अवस्थामा भने ३६.६५ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ ।

यसअघि आव २०७९–८० को अन्त्यसम्ममा नेपालमा बीमाको पहुँच ४४.३८ प्रतिशत पुगेको थियो । बीमा पहुँचमा त्यसबेलासम्मका लागि त्यो विन्दु नै उच्च थियो । तर, त्यसपछि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण नयाँ बीमा गर्ने व्यक्तिको संख्यामा कमी आउने, सरेन्डर बढ्ने लगायतले गर्दा बीमा पहुँच घट्न थालेको थियो । यद्यपि चालु आवको बैशाख मसान्तसम्ममा आईपुग्दा सामान्य अंकको बृद्धि देखिएको छ ।

२०८१ साउनसम्म आउँदा बीमा पहुँच ४२.७० सम्ममा सिमित भएको थियो । २०८१ भदौ यता भने बीमा पहुँच बढ्दो क्रममा थियो । म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेख सहित गरेर बीमाको पहुँचको अवस्था यस्तो देखिएको हो । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख हटाउँदा १६.४८ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार जीवन बीमलेख बाहेकको अवस्थामा भने ३६.६५ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ ।

चैत मसान्तसम्म आउँदा सक्रिय जीवन बीमालेखको संख्या भने एक करोड ४३ लाख ९९ हजार ५७३ रहेको छ । लघुबीमा कम्पनीहरुको आगमन, बीमा कम्पनीको बजार विस्तार रणनीति, बीमा प्राधिकरणले स्थानीय स्तरमै गरेको अन्तरक्रिया कार्यक्रम लगायतका कारण बीमा पहुँच बढ्दै गएको बताइन्छ ।

यता, चालु आवको नौ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय पनि १५.३२ प्रतिशतले बढेको छ । गत आवको पहिलो नौ महिनामा एक खर्ब १० अर्ब १६ करोड १६ लाख रुपियाँ जीवन बीमाशुल्क संकलन भएको थियो । चालु आवको नौ महिनामा भने एक खर्ब २७ अर्ब तीन करोड ६९ लाख रुपियाँ जीवन बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । अहिले नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*