बीमा दाबी वापत जीवन बीमकको ४५ अर्ब र निर्जिवनको साढे १६ अर्बको भुक्तानी

१२ जेष्ठ २०८२, सोमबार १४:२४

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएका छन् ।

दुई लाख ८१० बीमितलाई बीमा कम्पनीहरुलेृ सो बराबरको दावी भुक्तानी दिएको प्राधिकरणको तथ्यांकले देखाएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिबिम्ब’ नामक मासिक तथ्यांक प्रतिवेदनले यस्तो देखाएको हो ।

हाल नेपालमा १४ ठूला र तीन लघु गरेर १७ जीवन बीमा कम्पनी छन् । उनीहरुले बीमितको मृत्यु भएको अवस्थामा र बीमालेख परिपक्क भएको अवस्थामा सो बराबरको दावी भुक्तानी गरेका हुन् ।

जीवन बीमा कम्पनीले बीमितको मृत्यु भएको र बीमालेख परिपक्क भएको अवस्थामा बीमा दाबी भुक्तानी गर्ने गर्दछन् ।

बीमालेखमा उल्लेख भएको अवस्थामा दुर्घटना, स्वास्थ्य उपचार लगायतका अवस्थामा पनि दावी भुक्तानी दिइन्छ । यस्ता अवस्थामा सम्बन्धीत बीमित तथा इच्छाएको व्यक्तिले बीमा कम्पनीमा दावी आवेदन दिनुपर्छ । त्यसपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर दावी भुक्तानी दिनेछन् ।

गत आवको यसै अवधीमा भने जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ४१ करोड ७३ लाख रुपियाँ दावी भुक्तानी गरेका थिए । त्यो अनुसार दावी भुक्तानी ४।३० प्रतिशतले घटेको देखिन्छ । गत आवको समिक्षा अवधीमा संख्याका आधारमा दुई लाख ३१ हजार ३४५ वटा दावी भएको थियो ।

यस्तै, अब जीवन बीमा कम्पनीहरुले दिन बाँकी भुक्तानी भने चार अर्ब ४३ करोड २२ लाख रुपैयाँ रहेको छ । संख्याका आधारमा ५२ हजार ६८७ वटा आवेदनमा दावी भुक्तानी हुन बाँकी छ । उक्त आवेदनहरुमा अध्ययनको प्रक्रियामा छन् । आवश्यक प्रक्रिया पुरा गरेर दावी भुक्तानी गरिने बीमा कम्पनीहरुको भनाइ छ ।

यस्तै, समिक्षा अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६२ करोड २८ लाख रुपियाँ दावी भुक्तानी दिएका छन्

। एक लाख एक हजार ७१३ वटा संख्यामा सो बराबरको दावी भुक्तानी भएको हो ।

गत आवको यसै अवधीमा निर्जीवन बीमा कम्पनीहरुले एक लाख ६ हजार ५६३ संख्यामा १२ अर्ब ५० करोड ९१ लाख रुपियाँ भुक्तानी गरेका थिए । यसपाली संख्या घटेपनि रकम भने उच्च देखिन्छ । बिशेषगरि गत असोजको बाढी लगायतका कारण यसपाली निर्जीवन बीमा कम्पनीमा दावी बढेको छ ।

अझै पनि निर्जीवन बीमा कम्पनीले ३० अर्ब ९३ करोड ६४ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । एक लाख चार हजार ८७२ वटा संख्यामा दावी भुक्तानी गर्न बाँकी छ । प्रक्रिया पुरा भएपछि बाँकी रहेको भुक्तानी पनि गरिने कम्पनीहरुको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*