ब्रान्डको नाममा प्राणघातक व्यापारः रोयल इन्फिल्डले सुरक्षा फिचर हटाएर बेच्दै, वाणिज्य विभागको फन्दामा

काठमाडौँ । हेर्दा आकर्षक, चलाउन शक्तिशाली र ब्रान्डको नामले युवाहरूमा निकै लोकप्रिय रहेको रोयल इन्फिल्ड मोटरसाइकलमा उपभोत्ता ठगीएको खुलासा भएको छ । रोयल इन्फिल्डको चम्किलो बाहिरी बनावटको आडमा भित्र लुकेको साँचो यथार्थ भने निकै डरलाग्दो देखा परेको हो ।
कम्पनीको नियोजित रणनीतिले उपभोक्ताको विश्वास, पैसा र जीवनसमेत जोखिममा परेको तथ्यहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता ’अल्फा अटोमोटिभ प्रालि’ र यसको एसेम्बली साझेदार ’टीजी अटो ग्रुप’ले गरिरहेको व्यापारिक गतिविधि हेर्दा यो व्यापारभन्दा बढी नियोजित उपभोक्ता शोषणको एउटा उदाहरण हो भन्नेमा अब कुनै शंका बाँकी छैन । हालै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको निरीक्षणले पनि यही यथार्थ उजागर गरेको छ । विभागले काठमाडौं–११ स्थित अल्फा अटोमोटिभ प्रालिमा छापा मार्दा उपभोक्तालाई धोका दिने कार्यहरू प्रमाणसहित फेला पारेपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।
अनुगमनको क्रममा मोटरसाइकलका विभिन्न अटो पाट्र्समा रिलेबलिङ गरिएको, मूल उत्पादकको लेबल हटाएर भ्रामक विवरण टाँसिएको, मूल्य, परिमाण, नापतौल र गुणस्तरमा हेरफेर गरिएको देखिएको हो । उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार ‘वस्तुको गुणस्तर, परिमाण, मूल्य वा बनावट ढाँटी वा लुकाई विक्री’ गरेमा अपराध मानिन्छ । कम्पनीले उपभोक्तासँग विश्वासको नाममा रकम त उठाएको छ तर दिनुभएको सवारी साधन भने आश्वासनभन्दा ठ्याक्कै उल्टो देखिएको छ । आकर्षक विज्ञापन, चिटिक्क परेका शोरुम र ब्रान्डको प्रभावले उपभोक्ता लोभिएको देखिए पनि त्यस पछाडि लुकेको सत्य यति पीडादायी छ कि यसको असर उपभोक्ताको जीवनमा दीर्घकालीन हुने निश्चित छ ।
सुरक्षाको दृष्टिकोणबाट हेर्दा रोयल इन्फिल्ड मोटरसाइकलहरूमा हाल गरिएका परिवर्तनहरू झन् खतरनाक देखिन्छन् । एसेम्बलीका लागि जिम्मेवार रहेको टीजी अटो ग्रुपले मोटरसाइकलको मूल स्वरूपमा हस्तक्षेप गर्दै महत्वपूर्ण सुरक्षा विशेषता हटाएको पुष्टि भइसकेको छ । मुख्य रूपमा, मोटरसाइकलमा ‘एण्टी–ब्रेकिङ सिस्टम (एबीएस)’ हटाइएको छ जुन आपतकालीन ब्रेकिङको समयमा सवारी साधनलाई नियन्त्रणमा राख्न अत्यावश्यक हुन्छ । त्यसका साथै पछाडिको डिस्क ब्रेकसमेत हटाइएको पाइयो । यी दुवै सुविधा आधुनिक मोटरसाइकलको अनिवार्य सुरक्षा मानक हुन्, जुन अभावले सामान्य दुर्घटनालाई घातक बनाइदिन्छ ।
बजारमा यस्तो सवारी उपकरण विक्री गर्नु भनेको उपभोक्तालाई ’मृत्युतर्फ धकेल्नु’ सरह हो । उपभोक्ताले सुरक्षा युक्त मोटरसाइकल खरिद गरेको ठान्दासाथ सवारी चलाउँछन् तर कम्पनीको बदमासीका कारण ती मोटरसाइकलहरू यथार्थमा सस्तो गुणस्तरका, भ्रामक सुरक्षा विशेषता भएका ‘झुटा गाडी’ सावित हुन्छन् । मोटरसाइकलमा भएको हेरफेरको विषयमा कम्पनीले उपभोक्तालाई कुनै जानकारी नदिएको, पारदर्शिता नदेखाएको र प्राविधिक परिवर्तनसम्बन्धी स्पष्ट विवरण पेस नगर्नु गम्भीर अपराध हो । यो कानुनतः उपभोक्ता ठगीमा पर्ने काम मात्र होइन, नैतिकताको दृष्टिले पनि अत्यन्त लज्जास्पद र आपराधिक मानसिकता हो ।
कम्पनीले व्यापारिक नाफा बढाउने नाममा यस्तो गैरजिम्मेवार र गैरकानुनी कार्य गर्दै उपभोक्ताको स्वास्थ्य, धनराशि र विश्वासमाथि खेलबाड गरिरहेको देखिएको छ । वास्तविक गुणस्तर, नापतौल र मूल्य लुकाई बिक्री गरेको, फर्जी लेबल टाँसेर उपभोक्तालाई झुक्याएको, र प्रमुख सुरक्षा विशेषता हटाएर प्रोडक्ट बजारमा पठाएको कम्पनीले अझै पनि आफ्नो बदमासी स्वीकार गरिसकेको छैन । दोष प्रमाणित हुँदा समेत कम्पनीको विज्ञापन र प्रचार भने बढ्दै गएको छ ।