१४ मध्ये १२ कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुनमा बीमा गर्दा पाइन्छ सर्वाधिक बोनस ? (सूचीसहित)

१८ जेष्ठ २०८२, आईतवार १३:१५

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने छन् ।

१२ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

हालसम्म नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, एलआइसी नेपाल, हिमालयन लाइफ, नेशनल लाइफ, एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८०।०८१ को लागि सन नेपाल लाइफ इन्स्योरेन्सले अवको एक हप्ताभित्र नयाँ बोनशदर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

हरेक वर्षको बोनसदर सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा प्रदान गरिन्छ । यो रकम बीमा परिपक्व भएपछि एकमुष्ठ रुपमा प्राप्त हुन्छ । हरेक वर्षको बोनसदर र सोहि वर्षमा भुक्तानी गरेको प्रिमियमका आधारमा बीमितले प्राप्त गर्ने बोनस रकम निकालिन्छ । जति धेरै बोनसदर हुन्छ बीमितले त्यतिनै बढि लाभ लिन सक्छन् ।

कम्पनीहरुले घोषणा गरेको बोनशदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनशदर कायम हुने जनाएको छ ।

1) नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो। कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने जनाएको छ। यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, लघु सावधिक, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना समावेश छन्।

त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन्। त्यही प्रकारले जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसको व्यवस्था गरिएको छ। सुनौलो भविष्य जीवन बीमा योजनामा विकल्प १ र २ का लागि ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। यस्तै सुनौलो भविष्य जीवन बीमाको एकल बीमाशुल्क योजनामा बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन्।

सावधिक जीवन बीमालेखकै केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा बीमितले ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र जीवन साहारा र अनमोल जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिइने कम्पनीले जनाएको छ। अग्रिम भुक्तानी योजनाहरूमा पनि बोनस दर घोषणा गरिएको छ। यस बीमालेख अन्तर्गतका सबै बीमा योजनाहरूमा समान ५६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्यसैगरी अन्य योजनाहरू जस्तै जीवन सारथी योजनामा बीमितहरूले ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

2) नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङक्नका आधारमा नयाँ बोनसद निर्धारण गरेको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा लागू हुने गरी बोनसदर निर्धारण भएको हो।

कम्पनीले ‘सावधिक जीवन बीमालेख’ बीमा योजनामा बीमा अवधिअुनसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्रतिहजार बोनसदर निर्धारण गरेको छ। त्यस्तै कम्पनीले अर्को बीमा योजना ‘सावधिक तथा आजीवन बीमालेख’ मा पनि बीमा अवधिअनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख’ योजनामा बीमा अवधिअुनसार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म प्रतिहजारका दरले बोनसदर घोषणा गरेको छ। साथै कम्पनीले यो बोनसदर अर्को बीमाङ्कीय मूल्याङक्न प्रतिवेदन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत लागू हुने जानकारी दिएको छ।

3)सूर्यज्योति लाइफ इन्स्योरेन्स

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदन आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

स्वीकृत बिमाङ्किय मूल्यांकन कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनश दिने भएको छ ।

4)  हिमालयन लाइफ इन्स्योरेन्स

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले २४ वटै बीमालेखको प्लान कोड र बीमा अवधि अनुसार प्रति हजार बीमाङ्कमा बोनस दर निर्धारण गरेको छ। जसमा बीमालेख र बीमा अवधिअनुसार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।

त्यस्तै अग्रिम भुक्तानी सावधिकमा ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ रुपैयाँ, जीवन उपहार (सावधिक) मा ३१ रुपैयाँ र सावधिकमा ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

यता सावधिक तथा आजीवन बीमा योजनामा (१३) मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक (१०, १२ र १५) मा ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता (२३ र २५) मा ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना (२८) मा न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर दिने भएको छ।

5) एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ २ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको छ। जस अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।

त्यसैगरी अर्काे सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ४५ रूपैयाँदेखि ६२ रूपैयाँसम्म र बालबालिकाको सावधिक जीवन बीमालेखमा ४२ रूपैयाँदेखि ५२ रूपैयाँसम्म बोनसदर दिने भएको छ।

6)सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर निर्धारण गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस २९ गते स्वीकृत गरेपछि बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै कम्पनीको अर्काे बीमा योजना वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

त्यसैगरी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

त्यस्तै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) बीमालेखमा बीमा अवधिअनुसार बीमितलाई कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजार प्रतिवर्षका दरले बोनस दिने घोषणा गरको छ।

7)आइएमई लाइफ इन्स्योरेन्स

आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो।

सार्वजनिक नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक, सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ भने सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्।

त्यस्तै अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिने जनाएको छ।

यता बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) योजनामा बीमा अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) बीमा योजनामा बीमालेखको सम्पूर्ण बीमा अवधिका लागि समान २२ रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ।

8)सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको बीमाङ्कीय मूल्याङ्कनको आधारमा बीमितहरूलाई प्रदान गर्ने बोनसदर सार्वजनिक गरेको छ। सार्वजनिक बोनसदर अनुसार बीमितले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउनेछन्।

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ भने एकलतर्फ ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले त्रिपल सावधिक बीमामा बीमितलाई न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दिने भएको छ। यता दम्पति सावधिक बीमा योजनामा पनि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर तोकेको छ।

त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि अधितम ७० रुपैयाँसम्म बोनस दिने भएको छ। अग्रिम भुक्तानी योजनामा बीमितले ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

कम्पनीले तोकेको बोनसदर अनुसार बीमितले वार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँ र अधिकतम २१ रुपैयाँ रहेको छ भने मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सम्पूर्ण बीमा अवधिमा समान २४ रुपैयाँ र एकल शुल्कका सम्पुर्ण बीमा अवधिमा समान ५४ रुपैयाँ बोनसदर पाउने भएका छन्।

त्यस्तै १५ वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामूहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ प्रतिहजारका दरले बोनसदर तोकिएको छ। कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म र सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

त्यस्तै सीमित भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर तोकिएको छ भने बाल सावधिक बीमा योजनामा बीमालेख अवधि अनुसार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ।

9)मेट लाइफ

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखमा लागू हुने गरी बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी बीमा योजना (थ्री पेमेन्ट प्लान) मा बीमितले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस (प्रति हजारका दरले) पाउने भएका छन् । यस योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।

त्यसैगरी अग्रीम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) बीमा योजनामा १ देखि १५ वर्षको बीमा अवधिलाई ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ५५ रुपैयाँ बोनस दिने भएको छ।

त्यस्तै मेट लाइफले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।

कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।

10)रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरण्णले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै रिलायबल सुलभ जीवन बीमालेख र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ।

यता रिलाबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा २५ देखि २६ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ३१ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ।

त्यस्तै सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ५० र ५५ रुपैयाँ, रिलायबल समुन्नती जीवन बीमा योजनामा २० रुपैयाँदेखि २३ रुपैयाँसम्म र रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा ६० देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ।

11)एलआइसी नेपाल

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर निर्धारण भएको हो।

कम्पनीले जीवन बीमा, जीवन साथी, जीवन श्री बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

त्यस्तै बाल सावधिकमा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ, धन र्फिता बीमा योजनामा ५६ देखि ६० रुपैयाँसम्म र बाल ममता र बाल स्नेह बीमा योजनामा न्यूनतम ५५ रुपैयाँ र अधिकतम ५७ रुपैयाँ बोनस दिने भएको छ।

त्यस्तै कम्पनीले जीवन तरंग बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, न्यू जीवन तरंग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

त्यसैगरी कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म, बाल समृद्धि बीमा योजनामा ५५ र ५६ रुपैयाँ र लघु सावधिक बीमा योजनाको सबै बीमा अवधिमा ४१ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ।

12) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङ्कनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले ‘सावधिक’ बीमा योजनामा बीमा अवधिअनुसार घटीमा ३३ रुपैयाँदेखि बढीमा ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै अर्काे बीमा योजना ‘सावधिक तथा आजीवन’ मा बीमा अवधिअनुसार ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दिने जनाएको छ।

कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक’ बीमा योजनामा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म, ‘अग्रिम भुक्तानी सावधिक’ (समुन्नति एन्यूअल) बीमा योजनामा २३ देखि २७ रुपैयाँसम्म र ‘महालक्ष्मी सावधिक जीवन बीमा’ योजनामा ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीले अर्काे बीमा योजना ‘महालक्ष्मी सरल जीवन बीमा’ मा बीमा अवधिअनुसार ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म, ‘महालक्ष्मी जीवन हेरचाह बीमा’ मा ५० देखि ५१ रुपैयाँसम्म र ‘महालक्ष्मी बाल बचत बीमा’ योजनामा ३२ रुपैयाँदेखि ३९ रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यस्तै ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ योजनाको सबै अवधिमा ३५ रुपैयाँ, ‘महालक्ष्मी धनधान्य बीमा’ योजनाको सबै अवधिमा ४५ रुपैयाँ र ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनाको पनि सबै बीमा अवधिमा समान ३८ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*