एमजी जेडएस ईभीको दबदबाः परामाउण्ट मोटर्सको आम्दानी २ गुणाले बढ्यो, बजारमा बलियो पकड

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा तीव्र गतिमा उदीयमान परामाउण्ट मोटर्स प्रालि पछिल्लो समय ग्राहक र व्यवसायी दुवैको ध्यान केन्द्रित गराउन सफल भएको छ । सन् २०१६ (२०७३ साल भदौ १२) मा स्थापना भएको कम्पनीले बेलायती प्रतिष्ठित अटो ब्राण्ड एमजीको आधिकारिक वितरकका रूपमा व्यवसाय सुरु गर्दै छोटो अवधिमै चार अन्तर्राष्ट्रिय सवारी ब्राण्डहरूको आधिकारिक वितरक बन्ने सफलता हासिल गरेको हो । नेपालमा विद्युतीय सवारीसाधनको सम्भावना पहिचान गर्दै व्यवसायिक यात्रा सुरु गरेको परामाउण्ट मोटर्सले हाल एमजी, माज्डा, म्याक्सस र वुलिङ ब्राण्डका सवारीसाधन बजारमा ल्याउँदै अटो क्षेत्रमा आफ्नो उल्लेखनीय उपस्थिति जमाएको छ ।
परामाउण्ट मोटर्सले पहिलोपटक एमजी जेडएस ईभी भित्र्याएर विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति जनाएको थियो । एमजीको जेडएस ईभी मोडल कम्पनीको प्रमुख आम्दानी स्रोत बन्न पुग्यो । बजारमा राम्रो उपस्थिति, डिलर नेटवर्कको फैलावट र सरकारको वातावरणमैत्री नीतिको सदुपयोग गर्दै कम्पनीले उल्लेखनीय आम्दानी वृद्धि हासिल ग¥यो ।
कम्पनीको वित्तीय सूचकांकहरू हेर्दा सन् २०२३ मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी सन् २०२४ मा झण्डै दोब्बर भएर ४ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुगेको छ । वर्षदिनमा कम्पनीको आम्दानी १०१ प्रतिशतले बढेको हो ।
सन् २०१६ मा बेलायती ब्राण्ड एमजीसँग सहकार्य गरेर नेपालको सवारी बजारमा पाइलो टेकेको कम्पनीले क्रमशः २०२० को मार्चमा जापानको माज्डा मोटर कर्पोरेसन, २०२१ को अगस्टमा चीनको साइक म्याक्सस र २०२४ को मार्चमा चिनियाँ विद्युतीय सवारी निर्माता वुलिङसँग वितरक सम्झौता गरेको छ । थापाथलीस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको परामाउण्ट मोटर्सको स्वामित्व संरचना हेर्दा शिरीष कुमार मुरारको करिब ४० प्रतिशत स्वामित्व छ भने बाँकी हिस्सामा विशाल अग्रवाल, कविता संघाई, मञ्जु अग्रवाल र मधु अग्रवालको १५ प्रतिशत सहभागिता छ । नेपालका प्रतिष्ठित व्यवसायिक समूहहरू विशाल ग्रुप, मुरारका ग्रुप र संघाई ग्रुपको संयुक्त लगानीमा स्थापित कम्पनीले विगतका वर्षहरूमा नाफा र कारोबार दुवैको पक्षमा उल्लेखनीय फड्को मारेको छ ।
सन् २०२१ मा ७१ करोड ३० लाख रुपैयाँको कारोबारबाट सुरु गरेको कम्पनीले सन् २०२२ मा ३ अर्ब ४७ करोड रुपैयाँ, सन् २०२३ मा २ अर्ब ७ करोड र सन् २०२४ मा ४ अर्ब १८ करोड आम्दानी गरेको तथ्यांक इक्रा नेपालले उल्लेख गरेको छ । यद्यपि सञ्चालन नाफा अनुपात सन् २०२० मा १७.६ प्रतिशतबाट घटेर सन् २०२४ मा ७.८ प्रतिशतमा आइपुगेको छ ।
कम्पनीको कुल ऋण र स्ववित्त अनुपात पनि क्रमशः बढेको छ । सन् २०२२ मा ०.१ रहेको अनुपात सन् २०२३ मा २.३ र सन् २०२४ मा २.९ गुणा पुगेको छ । बाह्य दायित्वको अनुपात पनि २०२४ मा ३.६ गुणा पुगेको छ ।
ऋणबाट सञ्चालन नाफा निकाल्ने क्षमता सन् २०२३ मा ६.४ गुणा रहेकोमा सन् २०२४ मा ६.३ गुणा देखिएको छ । ब्याज तिर्ने क्षमता भने सन् २०२३ मा ६.२ गुणा रहेकोमा सन् २०२४ मा घटेर २.५ गुणा पुगेको छ । ऋण सेवा कवरेज अनुपात ५.१ बाट झरेर १.९ मा आइपुगेको छ भने तरलता सूचक सन् २०२४ मा १.२ मा पुगेको छ।
कम्पनीले हाल देशभर ८३ वटा आफ्नै सो–रूम तथा १९ वटा डिलरहरू मार्फत सेवा प्रवाह गर्दै आएको छ । काठमाडौं, पोखरा, बुटवल, धरान र नेपालगञ्ज जस्ता प्रमुख शहरहरूमा सशक्त उपस्थिति बनाएको परामाउण्ट मोटर्सले क्षेत्रीय बजार समेट्दै राष्ट्रिय उपस्थितिलाई मजबुत बनाएको छ ।
सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न आयात करमा छुट तथा ऋण सुविधामा सहजता दिएको छ । यद्यपि पछिल्लो केही महिनामा राष्ट्र बैंकले ऋण लिने सीमा कडाइ गरेपछि केही दबाब पारेको छ । सरकारले सन् २०३० सम्म निजी सवारीसाधनमा ६० प्रतिशत हिस्सा ईभी बनाउने लक्ष्य लिएकोले विद्युतीय सवारीको माग झनै तीव्र हुने प्रक्षेपण गरिएको छ ।
परामाउण्ट मोटर्सको सुदृढ व्यवस्थापन, अनुभवी प्रवद्र्धकहरू, अन्तर्राष्ट्रिय ब्राण्डहरूसँगको सफल साझेदारी र सशक्त वितरण सञ्जालले कम्पनीलाई नेपालको विद्युतीय सवारी बजारमा अग्रणी स्थानमा पु-याएको छ ।
परामाउण्ट मोटर्सले छोटो अवधिका कर्जामा इक्रा एनपि ए४ रेटिङ प्राप्त गरेको छ। कम्पनीको कूल १८० करोड रुपैयाँ बराबरको छोटो अवधिका कर्जामा यस्तो रेटिङ दिइएको हो ।