सामसुङ बिक्रेता आइएमएसको लुटः ग्राहक ठगेर लाखौं असुली, वाणिज्य विभागले हान्यो छापा

काठमाडौँ । सामसुङ मोबाइलको आधिकारिक वितरक आइएमएसको लुटधन्दा सार्वजनिक भएको छ । कम्पनीले उपभोक्ताको विश्वासमा आँच पु-याउँदै सस्तो बजारको नाउँमा गुणस्तरहीन मोबाइल फोन बेचेर ठगी गरेको पाइएको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १ मा रहेको आइएमएस स्मार्ट शोरुमबाट उपभोक्तामाथि खुल्लमखुल्ला ठगी र उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिएको प्रमाणसहित खुलासा भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । विभागले कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।
नेपालको मोबाइल बजारमा विश्वासको प्रतीकझैं बनेको सामसुङ ब्राण्डको छवि र मूल्य जोगाउने जिम्मा पाएको आधिकारिक वितरक आइएमएसले उपभोक्ता ठगी गरी आपराधिक कार्य गरी रहेको पाइएको हो । कम्पनीले उपभोक्तालाई ठगी गर्नका लागि चलाखीपूर्ण तरिका अपनाउँदै आएको खुलेको छ । मोबाइलको वास्तविक गुणस्तर, मूल्य, नापतौल, बनावट, ढाँचा लुकाएर, झुक्याएर ग्राहकलाई महंगो मूल्यमा खराब गुणस्तरका मोबाइल बेच्ने काम भएको हो । उपभोक्ताको आँखामा छारो हाल्दै गरेको व्यापारले कम्पनीलाई लाखौंको मुनाफा दिएपनि उपभोक्तालाई पिडा र निराश दिने गरेको छ ।
कम्पनीले ग्राहकलाई कुनै पनि वस्तुको वास्तविक स्थिति नजनाई प्रलोभनमा पार्ने विज्ञापन, आकर्षक स्किमका नाममा भ्रममा पार्ने, सेवासुविधा राम्रै छ भन्ने झुठो दावी गर्ने र समस्या आएपछि ग्राहकको गुनासोमा चासो नदिने नीति लिएको देखिएको छ । जुन सामसुङ जस्तो विश्वप्रसिद्ध ब्राण्डको पनि साखमा गम्भीर असर परिरहेको छ । ग्राहकले तिर्ने मूल्य अनुसारको सेवा पाउने अपेक्षा राख्छन् तर उनीहरु खराबीग्रस्त, लयबद्ध सेवा गुमाएको मोबाइल पाउने गरेका छन् ।
उपभोक्ताहरूले सामसुङ मोबाइल खरिद गरेपछि अनेकौं समस्या भोग्नुपरेको अनुभव सुनाएका छन् । सेवामा समस्या आउनु, सिग्नल नआउनु, नेटवर्क गुम्नु, स्क्रिनमा लाइन आउनु, ब्याट्री छिटो सकिनु, फोन तात्नु, चार्ज नहुनु, ढिलो काम गर्नु, एप बन्द हुनु, फोन बारम्बार फ्रिज हुनुजस्ता समस्या सामान्यझैं भएका छन् । केही प्रयोगकर्ताले त नयाँ मोबाइल लिएको केही दिनमै समस्या आउन थालेको गुनासोसमेत गरेका छन् । यस्ता समस्या देखिँदा ग्राहक सेवा केन्द्र गएका उपभोक्ताले झनै हैरानी खेप्नुपर्ने अवस्था देखिएको छ ।
कम्पनीलाई उपभोक्ताले बिल माग्दा बिल नदिने, बिल दिएपनि त्यसमा स्पष्ट विवरण नसमेटिने, कतिपय अवस्थामा बिलमा अतिरिक्त शुल्कसमेत देखिने गुनासोहरु सार्वजनिक भएका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ को धारा ३८ (ङ) अनुसार यो कार्य स्पष्ट रुपमा गैरकानुनी हो । विभागले यिनै प्रावधान अनुसार कारबाही गरेको हो ।
उपभोक्ताको ढाड सेक्ने गरी कालो बजारी र लुटमारका माध्यमबाट आइएमएसले गरेको व्यापार केवल व्यापारिक नैतिकताको पतन मात्रै होइन नभई कानूनी व्यवस्थाको खिल्ली उडाइएको ज्वलन्त उदाहरण हो ।
देशका सामान्य नागरिक हजारौं, लाखौं खर्च गरेर मोबाइल किन्छन्, त्यो पनि ब्राण्डेड भनेर । तर उनले त्यही ब्राण्डका नाममा गुणस्तरहीन वस्तु, खराब सेवा र अव्यवस्थित ग्राहक सेवा पाइरहन्छन् । कम्पनीले कुनै वस्तु बिक्री गर्दा वस्तुको गुणस्तर, परिमाण, मूल्य आदि ढाँटी, लुकाई, छिपाई झुक्याई बिक्री गर्न नहुने प्रावधानलाई निरन्तर उल्लंघन गरेको देखिन्छ । यसैगरी अभाव सृजना, कृत्रिम मूल्य वृद्धि, बिल जारी नगर्ने वा थप रकम माग्ने, म्याद सकिएको वस्तुमा नयाँ लेबल लगाएर बेच्नेजस्ता आपराधिक प्रकृतिका कामहरू गर्दै आएको प्रमाणसहित बाहिर आएको छ ।
आइएमएसका अध्यक्ष दिपक मल्होत्रा हुन् भने दिकेश मल्होत्रा सीइओ हुन् ।