फस्टाउँदै अनलाइन ठगी पेसा: ९ महिनामा सर्वसाधारणको ७५ करोड गायब, वालेट बने प्रमुख हतियार

काठमाडौं । पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग भयावह रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैतसम्मको ९ महिनामा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको ७५ करोड रूपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार कुल चालु आवको ९ महिनामा ७५ करोड ५३ लाख ४ हजार १९१ रूपैयाँ अनलाइन ठगीमार्फत गायब भएको हो ।
गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा यो ठगी रकम ११७ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षभरिमा अनलाइनबाट ३४ करोड ७२ लाख १५ हजार ५११ रूपैयाँ ठगी भएको थियो । यो तथ्यांकले अनलाइन आपराधिक क्रियाकलापहरू तीव्र गतिमा बढ्दै गएको देखाउछ।
प्रहरीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५१ जना ठगीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये १०८ जना पुरुष, १९ जना महिला र ३२ जना विदेशी नागरिक छन् । यसै अवधिमा ५८८ वटा ठगी सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन् । यस्तै अघिल्लो आर्थिक वर्षमा २२३ जनालाई मात्र पक्राउ गरिएको थियो ।
विशेषगरी पछिल्लो समय खल्ती, फोनपे, कनेक्ट आइपिएस जस्ता डिजिटल वालेट प्रणालीहरू ठगीको नयाँ हतियार बनेका छन् । यस्ता वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत समूहहरूले सर्वसाधारणका खातामा पहुँच बनाइ करोडौं रूपैयाँ ठगी गरिरहेका छन् । प्रयोगकर्ताले सेवा प्रदायकमा विश्वास गरेर दिएका विवरणहरू ठगी समूहले विभिन्न प्रविधि प्रयोग गरी ह्याकरको शैलीमा दुरुपयोग गरिरहेको पाइएको छ । प्रहरीका अनुसारका अनुसार वालेटकै प्रयोग गरी व्यक्तिगत बैंक खातासम्म पहुँच राख्ने कार्य बढ्दो छ ।
फस्टाउँदै ठगी पेसा
प्रविधिको प्रयोग बढेसँगै ठगीका नयाँ तरिका पनि दिनानुदिन फस्टाउँदै गएका छन् । डिजिटल माध्यमबाट गरिने ठगीमध्ये सबैभन्दा धेरै सामाजिक सञ्जालमार्फत ठगी भएको छ । यसबाट मात्रै १३६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २४ जना पुरुष र २ जना महिला गरी २६ जना स्वदेशी नागरिक पक्राउ परेका छन् भने १ जना विदेशी महिला पक्राउ परेकी छन् । सामाजिक सञ्जालमार्फत भएको ठगीबाट करिब २ करोड ५४ लाख ७० हजार रुपैयाँ बराबरको ठगी भएको छ ।
त्यस्तै अनलाइन बैंकिङमार्फत हुने ठगीका ८४ वटा मुद्दा दर्ता भएका छन् । यस प्रकारको ठगीमा ३९ जना पुरुष र ८ जना महिला स्वदेशी नागरिक पक्राउ परेका छन् भने १२ जना विदेशी पुरुष र ३ जना विदेशी महिला पक्राउ परेका छन् । यो माध्यमबाट गरिएको ठगीको अनुमानित रकम ८९ लाख ८३ हजार ५८१ रुपैयाँ रहेको छ ।
अनलाइन किनमेलमार्फत ठगी गर्ने घटना पनि उल्लेख्य छन् । यस शीर्षकमा ११५ वटा मुद्दा दर्ता भएका छन् । जस मार्फत ६९ लाख ८८ हजार रूपैयाँ ठगी भएको हो ।
त्यस्तै खल्ती, कनेक्ट आइपीएस, इसेवा, फोनपे लगायतका मोबाइल भुक्तानी प्रणाली प्रयोग गरी ठगी गर्ने ६४ वटा मुद्दा छन् जसमा ५ जना पुरुष र १ जना महिला पक्राउ परेका छन् । जस मार्फत ८८ करोड २१ लाख ७६० रूपैयाँ ठगी भएको छ ।
लट्री देखाएर १ करोड ६६ लाख २१ हजार रूपैयाँ, पहिचान चोरी गरी ३ लाख ३ हजार, स्पाम (अनावश्यक वा झूटा सूचना पठाउने) गरी ३ लाख र स्क्याम (छलपूर्ण योजना) गरी ८ लाख ५४ हजार, फिसिङ (झुटो वेबसाइट वा सन्देशमार्फत गोप्य जानकारी चोर्ने) गरी १४ लाख १५ हजार रुपैयाँ गठी भएको छ । यसैगरी अन्य प्रकारका ठगीसम्बन्धी १२६ वटा मुद्दा दर्ता भएका छन् । यसमध्ये १७ जना स्वदेशी पक्राउ परेका छन् भने १४ जना विदेशी पक्राउ परेका छन् । जस मार्फत ६० करोड ९६ लाख १५ हजार रूपैयाँ ठगी भएको छ ।
नियामकको अभिभावकीय भूमिका सुस्त, वालेट गहिरो निद्रामा
अनलाइन ठगी नियन्त्रणमा सबै भन्दा ठूलो भूमिका नेपाल राष्ट्र बैंकको हुुनुपर्ने हो । तर राष्ट्र बैंक सर्वसाधारणको करोडौं रकम ठगी हुँदा समेत अभिभावकीय भूमिका निर्वाह गर्न सकेको छैन । यसबाट नागरिकको जीउधन सुरक्षित राख्ने जिम्मेवारीबाट राष्ट्र बैंक पन्छिएको स्पष्ट देख्न सकिन्छ।
यो लापरवाहीबाट लाखौं प्रयोगकर्ताको खातामा रहेको रकम जोखिममा परेको छ ।
यता राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले अवैध कारोबार गरेको पाइए तत्काल कारबाही गर्ने बताए । उनले भने, ‘कुनै ब्यक्तिले अर्का आफ्नो मान्छेलाई पैसा पठाएको छ तर बिल शेयर अर्कै देखाएको छ भने त्यसमा केही गर्न सकिंदैन । तर वालेटको संग्लनताले नेपालमा अबैध मानिएको बाटो मार्फत ब्यवसायी कारोबार गरे हामी तत्काल कारबाही गर्छौं ।’
दुई ब्यक्तिहरुबीच पटक–पटक कारोबार भइरहेको भए राष्ट्र बैंकले खाता फ्रिज गर्न लगाउने प्रवक्ता पण्डितको भनाइ रहेको छ । ‘एकदुई पटक दुई ब्यक्तिबीच कारोबार भएको भए सामान्य मानिन्छ । तर पटक–पटक कारोबार भएको भए त्यो कुरा शंकापद लाग्छ । त्यसपछि खाता फ्रिजदेखि सम्बन्धी व्यक्तिलाई स्पष्टीकरण माग गर्ने काम हुन्छ ।’
वालेट कम्पनी आफ्नो लोगो दुरुपयोग गरेको भन्दै साइबर ब्यूरोमा समेत पुग्ने गरेको प्रवक्क्ताको भनाइ रहेको थियो ।
प्रहरी समेत सुस्त गतिमा
अनलाइन ठगीमा प्रहरी प्रशासनको भूमिका समेत सुस्त देखिएको छ । घटनाको उजुरी आएपछि मात्रै छानबिनमा जाने प्रहरीको प्रवृतिले अनलाइन ठगहरूको मनोबल थप बलियो हुँदै गएको छ ।
साइबर माध्यमबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । साइबर ब्यूरोका एक व्यक्तिले भने ‘ठगी गर्ने व्यक्तिहरूले ह्वाट्स्याप वा त्यस्तै माध्यमबाट मात्र फोनमा कुराकानी गर्दा हामीलाई लोकेट गर्नै गाह्रो हुन्छ। हामीले सिमकार्डका आधारमा जसरी लोकेशन पत्ता लगाउन सक्छौँ अन्य माध्यम प्रयोग गर्दा त्यति सहज हुँदैन ।’
प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार यस्ता ठगीका घटनामा हाल दिनहुँजसो ब्यूरोमा उजुरी परिरहेका छन् । उनका अनुसार बल्क एसएमएस सेवा प्रदायक कम्पनीहरू जस्तै ‘दी अलर्ट’ र ‘एटी अलर्ट’ मार्फत यस किसिमको सन्देश पठाइएको पुष्टी भइसकेको छ । एसएमएसमा ‘तपाईंको खाता ६ घण्टामा बन्द हुनेछ, तुरुन्तै प्रमाणित गर्नुहोस्’ वा ‘तपाईंको खाता निलम्बन गरिएको छ पहुँच पुनः प्राप्त गर्न आत्म–प्रमाणीकरण प्रक्रिया पूरा गर्नुहोस्’ भन्ने जस्ता सन्देशहरू पठाउने गरेका हुन् ।
खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक