पोखरामा इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार सम्पन्न

२५ जेष्ठ २०८२, आईतवार १२:०५

काठमाडौं । पोखरामा एक दिवसीय इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) र नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) को पोखरा च्याप्टर र नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ (निर्मा)को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य सुरेश रेग्मीले गरेका थिए भने स्वागत सचिव सुर्य बहादुर केसीले गरेका थिए। बीमा प्राधिकरणको गण्डकी प्रदेशका प्रमुख शंभु प्रसाद मिश्रले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रम चार सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा बीमा सम्बन्धी कानूनी व्यवस्थाको बारेमा चर्चा गरिएको थियो। बीमा क्षेत्रमा कार्यरत सबैले कानूनको राम्रो जानकारी राख्नुपर्ने र सुशासनको अभ्यास नियामक र बीमक दुवैको कर्तव्य भएको कुरा उठाइएको थियो।

दोस्रो सत्रमा निर्माका अध्यक्ष तथा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाका समसामयिक विषयवस्तुहरू, चुनौतीहरू र आगामी सम्भावनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे। उनले डिजिटल बीमा, सामाजिक सुरक्षा, जलवायु परिवर्तनसँग जोडिएको बीमा, कृषि बीमा, साइबर जोखिम, कृत्रिम बुद्धिमत्ता, हरित बीमा, बीमा धोखाधडी लगायतका विषयमा चर्चा गरेका थिए।

तेस्रो सत्रमा हिमालयन जनरल इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा हाल यूआईबी रिइन्स्योरेन्स ब्रोकर युकेका नेपाल प्रतिनिधि सुसिल बज्राचार्यले इन्जिनियरिङ बीमामा जोखिम मूल्याङ्कन, अन्डरराइटिङ प्रक्रिया, प्रिमियम निर्धारण, सर्त र बहिष्करणहरू तथा आवश्यक कागजातहरूका बारेमा प्रस्तुति दिए।

चौथो तथा अन्तिम सत्रमा सर्भेयर र बीमा विज्ञ बुद्धि राज अधिकारीले “रिस्क टु रिकभरी” विषयमा बोलेका थिए। उनले प्रोजेक्टका किसिमहरू, इन्जिनियरिङ बीमाका प्रकारहरू, जोखिमको अवस्था र म्युनिख रि तथा नेपालको परिप्रेक्ष्यमा देखिने समस्याहरूको बारेमा आफ्ना अनुभवहरू साझा गरेका थिए।

यस कार्यक्रममा गण्डकी प्रदेशमा कार्यरत निर्जीवन बीमा कम्पनीका करीब ९० जना कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूबाट प्रतिक्रिया लिनुका साथै सबै सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*