जीवन बीमकले बागमती प्रदेशबाट मात्रै संकलन गरे ६२ अर्ब ५८ करोड बीमाशुल्क, अरू प्रदेशबाट कति?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न बीमालेख बिक्री गरेर १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमा शुल्क, म्यादी, लघु र अन्य जीवन बीमालेख बिक्री गरेर उक्त राशीको बीमाशुल्क संकलन गरेका हुन्।
हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनी गरी कुल १७ वटा कम्पनीहरूले जीवन बीमा व्यवसाय गरिरहेका छन्।
चालू आवको दश महीनासम्म जीवन बीमा कम्पनीहरूले बागमती प्रदेशबाट सर्वाधिक बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कम्पनीहरूले यो प्रदेशबाट मात्रै ६२ अर्ब ५८ करोड ५१ लाख रुपैयाँ संकलन गरेका हुन्।
देशकै राजधानी काठमाडौं भएको, भौतिक विकासका पूर्वाधारले पनि अन्य प्रदेशभन्दा अगाडी रहेको र यहाँ हजारौं अभिकर्ता घुमिरहने भएकाले पनि बागमती प्रदेशमा कम्पनीहरूले सर्वाधिक व्यवसाय गर्दै आइरहेका छन्।
यस प्रदेशमा पनि अन्य बीमालेखको तुलनामा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख बिक्री गरेर सर्वाधिक ११ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ संकलन गरेका छन्। अझ अन्य प्रदेशमा अत्यन्तै न्यून भएको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेर यस प्रदेशबाट २ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ संकलन गरेका छन्।
त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २१ अर्ब ९४ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। तेस्रोमा कोशी प्रदेशबाट १६ अर्ब ८७ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।
त्यसैगरी चौथोमा गण्डकी प्रदेशबाट कम्पनीहरूले १४ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् भने पाँचौमा मधेश प्रदेशबाट १२ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन्।
त्यस्तै कम्पनीहरूले सुदूरपश्चिम प्रदेशबाट ८ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट सबैभन्दा कम ३ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेश भोगोलिक हिसाबले र भौतिक पूर्वाधारको हिसाबले पनि अरूभन्दा पछाडि रहेको प्रदेश भए तापनि कम्पनीका अभिकर्ताहरू आम बीमितको घरदैलोमै पुगेर जीवनको रक्षावरण गर्दै उक्त राशीको बीमाशुल्क संकलन गर्न सफल भएका छन्।