बीमा प्राधिकरणद्वारा जीवन बीमा कम्पनीका अध्यक्षसँग छलफल, सञ्चालक समितिलाई सक्रिय बन्न निर्देशन

२९ जेष्ठ २०८२, बिहीबार १९:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका अध्यक्ष तथा सञ्चालकहरुसँग छलफल गरेको छ ।

आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरिएको छलफलमा बीमा प्राधिकरणका अध्यक्ष शरद, कार्यकारी निर्देशक सुशिल सुवेदी तथा निर्देशकहरु सहित बसेर जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुसँग छलफल गरिएको हो । अध्यक्ष ओझाले सबै बीमा कम्पनीका सञ्चालक समितिलाई सक्रिय भएर ऐनले तोकेको जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन् ।

सबै जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुलाई अनिवार्य गरिएको आजको छलफलमा दुवै तर्फबाट समस्या र गुनासाहरुमाथि पनि छलफल भएको थियो ।
सो क्रममा बीमा कम्पनीका अध्यक्षहरुले पुनर्बीमा विदेशमा गराउनुपर्ने, नेपालको पुनर्बीमा असुरक्षित रहेको, आयकर गणना विधि नमिलेको जस्ता विषयहरु पनि उठाएका छन् । केही अध्यक्षहरुले लगानी विविधिकरणको बिषय, व्यवस्थापन र सञ्चालक समितिको दुरी कायम हुँदा प्रभावकारी काम गर्न नसकेको गुनासो समेत उठेको थियो ।

केही सञ्चालकहरुले व्यवस्थापनले सञ्चालक समितिलाई गुमराहमा राखेको बिषय समेत उठाएका छन् । सुशासनका बिषय, सिईओले बढी तलव खाएको बिषय पनि आजको छलफलमा उठेका छन् । एक जना अध्यक्षले भने प्राधिकरणमा लामो समयसम्म फाइल अल्झिएको, एक्चुरियल भ्यालुएशन सम्बन्धी फाइल प्राधिकरण आफैले अड्काएर राखी पत्र काटेको गुनासो समेत निकालेका छन् । ओरेन्टेशन भन्ने नाम दिइएको छलफलमा बीमा कम्पनीका अध्यक्षहरुले खुलेर कुराहरु प्रस्तुत गरेका थिए ।

छलफलपछि प्राधिकरणका अध्यक्ष शरद ओझाले भने, ‘बीमा प्राधिकरण सहजिकरणको भूमिकामा रहेका छौं, तपाईहरु आफै सक्रिय हुनुभयो भने हामी नियामकको खासै काम हुँदैन ।’ अध्यक्ष ओझाले सञ्चालक समितिलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् । अन्तिम जिम्मेवार सञ्चालक समिति नै हुने भएकोले बीमा ऐनमा तोकिएको जिम्मेवारी र दायित्व नबिर्सी काम गर्न उनले निर्देशन दिएका छन् ।

अध्यक्ष ओझाले लगानी सम्बन्धी शाखा नै बनाएर काम गर्न निर्देशन दिएको बताउँदै अझै नतिजामुखी र प्रभावकारी काम गर्न र सञ्चालक समितिलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् । साथै ओझाले बीमा व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन सबैको सामूहिक प्रयास जरुरी रहेको समेत औल्याएका छन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले स्वागत मन्तव्य राखेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*