नेपाल पुनर्बीमा कम्पनीमा सिईओ र अध्यक्षको सेटिङ मौलाउँदै, व्यवसाय छोड्दै कमिशन बुझ्दै !

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा र अध्यक्ष देवराज ढुंगाना मिलेर अर्बौ रुपैयाँ सरकारी लगानी जोखिममा पार्ने कार्यमा उद्यत रहेको तथ्य फेला पारेको छ । अध्यक्ष ढुंगाना र सिईओ थापाको मिलेमतोमा अनिवार्य बीमा अन्तर्गतका बीमा पुलहरुको व्यवस्थापन छोडे बापत करोडौं रुपैयाँ कमिशन बुझेको आरोप लागेको छ ।
नेपाल रि स्वतन्त्र कर्मचारी युनियनले हिजो एक बिज्ञप्ति जारी गर्दै संस्थाका उच्च व्यवस्थापकहरु मिलेर बैदेशिक रोजगार बीमा पुल व्यवस्थापक नियोजित रुपमा छोड्ने निर्णय गरेको गम्भिर आरोप लगाउँदै अन्य व्यवसाय समेत गुमाउने गरी सेटिङ हान्ने कार्यमा संलग्न रहेको संगिन आरोप लगाएको छ ।
हुँदा हुँदा पुनर्बीमा कम्पनीका सिईओ, अध्यक्ष र सञ्चालकहरु मिलेर अब सवारी साधनको तेस्रो पक्ष अनिवार्य बीमा व्यवस्थापनको पुल समेत छोड्न मोलाई गरिरहेको कर्मचारीहरुले नै आरोप लागेको छ । उक्त कार्यमा कम्पनीका डेपुटी सिईओ दामोदर भण्डारीको समेत मौन समर्थन रहेको देखिन आएको छ । भण्डारी लामो समयदेखि नेपाल पुनर्बीमा कम्पनीको डेपुटी सिईओ भएर काम गरिरहे पनि व्यवसाय बृद्धि र सरकारी लगानीको सुरक्षा भन्दा पनि अन्यत्रै ध्यान दिइरहेका छन् ।
सुरेन्द्र थापा सिईओ बनेर आएदेखि नै नेपाल पुनर्बीमा कम्पनीभित्र व्यवसाय छोड्ने र सो बापत कमिशन बुझ्ने गरेको आरोप लाग्दै आएको छ । तत्कालिन अर्थमन्त्री बर्षमान पुनको पालामा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला नेपाल पुनर्बीमा कम्पनीको सिईओमा नियुक्त भएका थापाका पछिल्ला गतिविधिहरु कम्पनीकै हित विपरित हुँदै आएको कम्पनीभित्रका आम कर्मचारीहरुको गुनासो छ ।
पुनर्बीमा कम्पनीका कर्मचारीहरुले एउटा मात्रै नभई सबै उच्च तहका व्यक्तिहरुले पुनर्बीमा कम्पनीलाई दोहन गरेर व्यक्तिगत फाइदामा लागेको घुमाउरो पारामा आरोप लगाएका छन्।
कर्मचारी युनियनले कम्पनीका विरुद्धमा हुने जुनसुकै षडयन्त्र र सेटिङलाई नाङ्गेझार बनाएर सडकमा पछार्ने चेतावनी दिँदै यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
कर्मचारी युनियनका अध्यक्ष र महासचिवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘यस कम्पनीको दीर्घकालीन अस्तित्वलाई ध्वस्त पार्ने गरी विगत केही समय देखि हुदै आएका चलखेल तथा शंकास्पद क्रियाकलाप सबै सामु छर्लङ्ग नै थियो । सोही क्रममा एफई (बैदेशिक रोजगार म्यादी बीमा) पुल विजनेश यस अघि नै दिंदा समेत यस कम्पनीको व्यवस्थापन तह÷सञ्चालकका तर्फबाट एक संक्षिप्त विज्ञप्ती समेत जारी गर्न नसकी मौन सहमति दिएको सम्पूर्णमा अवगत नै छ ।
हाल आएर यस कम्पनीको सर्वाधिकार रहेको मोटर तेस्रो पक्ष बीमा व्यवसाय समेत कम्पनीका कर्मचारीहरुको भर मजबुर प्रयास गर्दागर्दै कम्पनीका केही उच्च व्यवस्थापन तथा नीति निर्माण गर्ने तह नै पदीय जिम्मेवारीवाट च्यूत भई कम्पनीलाई धारासायी पार्ने गरी भित्रभित्रै निर्णय गरी हाल आएर रकम समेत बुझाउन तम्तयार भएको प्रति नेपाल रि स्वतन्त्र कर्मचारी युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।
साथै, उक्त गलत प्रकृयामा संलग्न अधिकारीहरुलाई तत्काल कारवाही गरी सरकारको समेत लगानी रहेको कम्पनीको भविष्यलाई संरक्षण गर्न व्यवस्थापन तथा संचालक समिति समक्ष गंभिर ध्यानाकर्षण गराउन चाहान्छौं ।
यस कम्पनीको जुनसुकै कालखण्डमा कम्पनीको हितलाई दखल पुग्नेगरी हुने वा भएका कुनै पनि कार्यमा संलग्न भएको थाहा पाएमा जस्तोसुकै कदम चाल्न पनि नेपाल रि स्वतन्त्र कर्मचारी युनियन बाध्य हुने छ । सो सम्वन्धी कुनै थप तथ्य प्रमाण भएमा यस युनियनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उपलब्ध गराउन सम्पूर्णमा अनुरोध गर्दछौं ।
तसर्थ, यति हुँदाहुँदै पनि कम्पनीका तर्फबाट उक्त गलत कार्यको शिलशिला नरोकिएमा नेपाल रि स्वतन्त्र कर्मचारी युनियन चरणबद्द आन्दोलनको कार्यक्रम घोषणा गर्नेछ ।’
सो सम्बन्धमा बीमापोष्टले प्रतिकृया राख्न खोज्दा कम्पनीका सिईओ सुरेन्द्र थापाले आफू व्यस्त भएको भन्दै उत्तर दिन चाहेनन् ।