विदेशमा लगानी गर्न चाहने आईटी उद्योगका लागि बाटो खुल्यो

काठमाडौं नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न चाहने सूचना प्रविधि (आईटी)उद्योगका लागि विदेशी मुद्राको सीमा तोकेको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्ने कम्पनीले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ चौथो पटक संशोधन गरी आईटी कम्पनीलाई विदेशमा लगानी गर्ने सीमा तोकेको हो । सरकारले गत माघमा अध्यादेश मार्फत कानुन संशोधन गरेर नेपाली कम्पनीले विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने र सिधै विदेशी कम्पनीमा सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
त्यसका लागि सरकाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, कम्पनी ऐन २०६३ र विदेशी विनिमय ऐन २०१९ लाई अध्यादेश मार्फत संशोधन गरेको थियो । सोही संशोधित व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले विनियमावली संशोधन गरेको हो ।
केन्द्रीय बैंकले विनियमावलीमा परिच्छेद ५ ‘क’ थप गर्दै विदेशमा लगानीको नियमन सम्बन्धी व्यवस्था गरेको छ । विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्रा सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने विनियवलीमा उल्लेख छ ।