राष्ट्रिय जीवन बीमा कम्पनीको आव ०६९/७० को बोनस दर सार्वजनिक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०६९/२०७० का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ।
कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका बीमालेखहरूमा प्रतिवर्ष प्रतिहजारका दरले बीमांकमा ५५ रुपैयाँ बोनस दर निर्धारण गरेको हो।
कम्पनीको आव २०६७/६८ देखि आव २०६९/७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ रहेको छ। सोही बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो।
यस कम्पनीको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले वि.सं. २०८० माघ १७ को पत्रबाट स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ।
साथै कम्पनीले बोनसदर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने जानकारी दिएको छ।