ग्लोबल आइएमई बैंकको नाम र लोगो प्रयोग गरेर अनलाईन ठगी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाम र लोगो प्रयोग गरेर मार्फत् आम सर्वसाधारणलाई भ्रमित पारेर अनलाईन मार्फत् ठगी गर्ने गरेको खुलेको छ।
अनलाईन ठगीका लागि ग्लोबल आइएमई बैंकको लोगो र ग्लोबल आइएमई बैंककै कमलादी शाखाको जस्तो लाग्ने जिमेल प्रयोग गरेर ठगी गर्ने गरेको पाइएको हो।
यसरी बैंकको नाम र लोगो दुरुपयोग गर्दै आफ्ना ग्राहकलाई ठग्ने गरेको सूचना पाएपछि बैंकले उक्त ठगीमा प्रयोग भएको नम्बर र जिमेल सार्वजनिक गरेरै सतर्क रहन आग्रह गरेको छ।
पछिल्लो समय बैंककै लोगो र जिमेल राखेर बैंककै प्रतिनिधि वा कर्मचारी भएको नक्कल गर्दै ओटीपी, पिन, सीभीभी, पासवर्ड आदि मागेर खातामा अनधिकृत पहुँच बनाएर खाताबाट रकम चोरी गर्ने घटना बढ्दै गइरहेको छ।
अझ पछिल्लो समय ग्राहकलाई निश्चित सयमभित्र खाता भेरिफाई नगरेमा खाता नै बन्द हुने भन्दै चेतावनीयुक्त सन्देश पठाएर खाता सम्बन्धी व्यक्तिगत विवरण मागेर रकम चोरी गर्ने गरेको पाइएको छ।
यता बैंकले भने सूचना नै जारी गरेर बैंकले कहिल्यै पनि ग्राहकको व्यक्तिगत विवरण जस्तैः पासवर्ड, पिन कोड, ओटीपी लगायतका विवरण नमाग्ने भएकाले त्यस्तो विवरण कसैलाई नदिन सचेत गर्दै आइरहेको छ।