एमएडब्लु सञ्चालक अग्रवालको दादागिरी, शक्तिको आडमा ग्राहकको डेढ करोडको गाडी कब्जा

काठमाडौँ । शक्तिको आडमा ग्राहकहरु ठग्दै आएको नेपालको ठूला सवारी साधन विक्रेतामध्ये एक एमएडब्लु इन्टरप्राईजेज फेरी विवादमा तानिएको छ । कम्पनीका मालिक विष्णुकुमार अग्रवालमाथि ग्राहकको गाडी जबर्जस्ती कब्जा गरेको आरोप लागेको हो । पीडित निरज केसीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा आफ्नो पीडा सुनाउँदै कम्पनीले डेढ करोड रुपैयाँ बराबरको जीप कम्पास ब्रान्डको गाडी आठ महिनादेखि नियन्त्रणमा गुनासो गरेका हुन् ।
केसीका अनुसार २०८१ सालको असोज १२ र १३ गते काठमाडौं उपत्यकामा परेको भारी वर्षाका बेला गाडी घरमै पार्किङ गरिएको थियो । ती दिन परेको वर्षाको कारण गाडीमा सामान्य मात्रामा पानी पस्दा उनले तत्काल कम्पनीलाई जानकारी गराएका थिए । जानकारी गरेलगत्तै एमएडब्लु इन्टरप्राइजेजकै कर्मचारीहरू घरमै पुगेर गाडी लिएर गए । गाडी कम्पनीको आधिकारिक सर्भिस सेन्टर लाइफ अटो मोबाइल, बसुन्धारामा लगिएको थियो ।
सुरुमा सामान्य क्षति भएको र केही दिनभित्रै मर्मत गरी गाडी फिर्ता गरिने आश्वासन दिइए पनि अहिले आठ महिनासम्म गाडी फिर्ता पाउन नसकेको केसीको भनाइ छ । ‘पानी पसेको खबर गरेपछि कम्पनीबाटै मान्छे आएर गाडी लिएर गयो, सुरुमा भने केही सामान्य क्षति छ, मर्मत गर्छौं अनि केही दिनमै फर्काउँछौं भने, तर आठ महिना भइसक्दा पनि न त मेरो गाडी बनाएर दिए न त नयाँ गाडी दिए’ पीडित केसीले दुःखेसो पोखे ।
सुरुवातमा गाडी मर्मत गरेर दिने वा नयाँ गाडी उपलब्ध गराउने आश्वासन दिएको कम्पनीले पछि धम्की दिन थालेको उनको आरोप छ । ‘म गाडी माग्न जाँदा उल्टै कम्पनीका कर्मचारी र अधिकारीहरूले गम्भीर किसिमका धम्की दिने गरेका छन्’ उनले भने । कम्पनीका तल्लो तहका कर्मचारीदेखि लिएर सीइओसम्मलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको केसीको भनाइ छ ।
‘कम्पनीले गाडी नदिएपछि मैले अदालत जान्छु भन्दा, एमएडब्लुका सय वटा मुद्दा छन्, तपाईंले हाले एउटा थपिन्छ भन्ने गर्छन्’ केसीले भने । कम्पनीका तर्फबाट पटकपटक मानसिक दबाब दिइएको, मिडियामा नजान चेतावनी दिएको र गम्भीर खालको दादागिरी देखाइएको उनको आरोप छ ।
बैंकबाट किस्ताबन्दीमा खरिद गरिएको बा २५ च २६६२ नम्बरको गाडी कम्पनीले किन जबर्जस्ती कब्जा गरिराखेको छ भन्नेबारे केसीले गहिरो शंका व्यक्त गरे । उनले भने, ‘बीमाबाट क्षतिपूर्ति लिन पनि मलाई रोकियो, मर्मत गराएर गाडी पनि दिइएन, बीमा क्लेम गर्न पनि दिइएन । यति लामो समयसम्म गाडी नदिएर कतै गैरकानुनी कारोबार त गर्दै छैनन् भन्ने शंका लागेको छ ।’
कम्पनीले उनीमाथि मनोवैज्ञानिक र कानुनी दुवै किसिमको त्रास सिर्जना गरेर आफ्नो गल्ती लुकाउन खोजेको बताए । आफूले पटकपटक सम्बन्धित निकाय, कम्पनी अधिकारी र कानुनी सल्लाहकारलाई भेट्दा पनि आफूलाई गम्भीर रूपमा अपमान गरिएको उनले दाबी गरे । ‘सुरुमा मलाई नयाँ गाडी दिन्छौँ भनेका थिए, अहिले भने केही दिन्छौँ भन्ने अवस्था छैन, मिडियामा गयो भने परिणाम राम्रो हुँदैन भनेर धम्क्याइन्छ’ केसीले भने ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत रहेका एमएडब्लु इन्टरप्राइजेजका मालिक विष्णुकुमार अग्रवालमाथि ठूलो राजनीतिक र प्रशासनिक संरक्षण रहेको भन्दै केसीले गुनासो गरे । उनले कर छली, बीमा रकम हिनामिना र कम्पनीकै नाममा गरिएका गैरकानुनी कारोबारबारे पनि शंका व्यक्त गरे । ‘कम्पनीको व्यापारिक पहुँच व्यापक छ । यामाहा स्कुटरदेखि लिएर जिप, स्कोडा, जेसीबी लगायत महँगा गाडी बिक्री वितरण गर्दै आएको छ । यस्तो ठूला कारोबारबीच यस्ता गैरजिम्मेवार काम हुनु गम्भीर विषय हो’ केसीले भने ।
केसीले पत्रकार सम्मेलनमार्फत् मात्र नभई हालसम्म उपभोक्ता हित संरक्षण मञ्च, प्रहरी प्रशासन, वाणिज्य विभाग, उपभोक्ता संरक्षण समिति लगायतका निकायहरूमा पनि उजुरी गरिसकेका छन् । तर अहिलेसम्म कुनै पनि निकायले उनको समस्या समाधान गर्न चासो नदिएको उनले दुःख व्यक्त गरे । ‘मैले उपभोक्ताको हक अधिकार र कानुनी प्रक्रियामा विश्वास गरेर सबै निकायमा उजुरी दिएँ । तर कतैबाट पनि सहयोग भएन । उल्टै उनीहरूले राजनीतिक पहुँच देखाएर मलाई निरुत्साहित बनाउने प्रयास गर्दैछन्’ केसीले भने ।
नेपालमा उपभोक्ताको अधिकार संरक्षण गर्न बनेका कानुनी प्रावधान र सरकारी संयन्त्रहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको यो घटनाले पुनः उजागर गरेको छ । एमएडब्लु इन्टरप्राइजेज नेपालमा सवारी साधनको क्षेत्रमा निकै ठूलो बजार हिस्सेदारी राखेको कम्पनी हो । यामाहा स्कुटर र मोटरसाइकल, स्कोडा, जीप ब्रान्डका गाडी, जेसीबी निर्माण उपकरणलगायतका सवारी साधनका लागि यो कम्पनीले नेपालको आधिकारिक विक्रेता भएर काम गर्दै आएको छ । सवारी साधन खरिद गर्ने नेपाली ग्राहकको ठूलो हिस्सा यस कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ ।
सामान्यतया यस्तो ठूला कम्पनीमा उपभोक्ताका गुनासाहरु सजिलै समाधान हुनुपर्ने हो । तर, यसरी गाडी नै कब्जा गरेर धम्की दिने काम हुनु भनेको बजारमा व्यवसायिक आचरण कमजोर हुँदै गएको प्रमाण हो । नेपाल उद्योग परिसंघको अध्यक्ष भइसकेका अग्रवालको सरकार, प्रशासन र राजनीतिक वृत्तमा बलियो पहुँच रहेको मानिन्छ । यस्तो प्रभावशाली व्यक्तिले उपभोक्तासँग यसरी गैरजिम्मेवार व्यवहार गर्नुले देशमा व्यवसायिक आचरणको स्तर कस्तो छ भन्ने प्रस्ट भएको छ ।