नक्कली कागजात बनाएर बीमाको रकम ठगी गर्ने प्रयास, श्रीमान र सरकारी कर्मचारीको मिलेमतो

काठमाडौं । दुई बर्ष अघि आत्महत्या गरी ज्यान गुमाएको व्यक्तिको कृत्तिम रुपमा बैदेशिक रोजगारमा गएको देखाई बीमा रकम लिन खोज्ने एक अपराधमाथि नेपाल प्रहरीको सिआईबी अनुसन्धानको प्रकृया अघि बढाएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको नाममा हुने बीमा रकम ठगीमा सरकारी कर्मचारीकै मिलेमतो भएको पाइएसँगै सिआईबी ले गरेको अनुसन्धानको प्रकृया अघि बढाएको हो ।
वैदेशिक रोजगार बोर्डको पत्रका आधारमा गरिएको अनुसन्धानबाट बोर्डकै पूर्वकर्मचारी दोषी देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गरेको अनुसन्धानका क्रममा प्राविधिक नायव सुब्बा पशुपति अधिकारीसहित पाँच जनाको दोषी देखिएको पाइएको छ ।
उनले बोर्डको दर्ता चलानी शाखाका कर्मचारीसँगको मिलेमतोमा कीर्ते काम गरेको सिआईबीले पत्ता लगाएको हो ।
त्यहाँको दर्ता चलानीका थप ३ कर्मचारीलाई सिआईबीले मंगलबार सोधपुछका लागि बोलाएको थियो । ती कर्मचारीले आफूहरुलाई झुक्यानमा पारी अधिकारीले त्यस्तो काम गरेको भन्दै बयान दिएको बुझिएको छ ।
अधिकारी २०७९ चैतसम्म कम्प्युटर अपरेटरका रुपमा बोर्डमा कार्यरत थिए । सो वर्षको चैतमै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बीमा रकम हिनामिनाबारे अनुसन्धान गर्दा अधिकारी त्यसबेला पनि दोषी देखिएका थिए ।
वैदेशिक रोजगारीबाट फर्किएर आत्महत्या गरेकी काभ्रे, रोशी गाउँपालिका– १० की सोमा थिङको नाममा अधिकारीसहितको गिरोहले बीमा रकम निकासा प्रयास गरेको थियो । १० लाख रुपैयाँ ठगी प्रयास गरिएको प्रहरीको भनाई छ । उनीहरूले गाउँपालिका र परराष्ट्र मन्त्रालयको सिफारिस बोर्डमा पेश गरिसकेका थिए । पत्रको आधिकारिकतामा शंका भएपछि बोर्डले गाउँपालिकालाई पत्राचार गरी सोधपुछ गर्दा घटना नै फरक भएको र बैदेशिक रोजगारीबाट फर्केर नेपालमै आत्महत्या गरेको र निजहरुले कृत्तिम कागजात बनाई बैदेशिक रोजगार विभागबाट पाउने रकम र बीमा कम्पनीबाट पाउने रकम लिन खोजेका थिए ।
बोर्डले गरेको छानविनको क्रममा काभ्रेस्थित रोशी गाउँपालिकाले बीमा दावी गर्नुअघि नै थिङको निधन भएको जवाफ दिएपछि थप अनुसन्धानको लागि प्रहरीलाई जिम्मा लगाइएको थियो । जबकी कीर्ते गरिएको गाउँपालिकाको पत्रमा उनको निधन कालगतिले भएको उल्लेख थियो । अध्यागमनको पत्र पनि कीर्ते गरिएको कुरा खुलेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो ।
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको हकमा मात्र बीमा रकम दिने गर्दछ । तर, थिङको निधन विदेशबाट फर्किएपछि र घरेलु हिंसामा परेर भएको थियोे ।
अनुसन्धानका क्रममा नासु अधिकारीको गिरोहमा रहेका कान्छामान तामाङ पनि पक्राउ परेका छन् । उनी आत्महत्या गर्ने सोमा थिङका पति हुन् । २०७९ असार २५ गते बनेपामा सोमा थिङले आत्महत्या गरिन् । त्यसबेलासम्म उनको श्रम स्वीकृतिको अवधि समाप्त भइसकेको थियोे ।
उनीहरू रोशी गाउँपालिका– १० ठकुरी गाउँ, माथ्लो पोखरी टोलका बासिन्दा हुन् । पति, पत्नी ललितपुरको इमाडोलमा डेरामा बस्थे । असार १६ गते पति कान्छारामसित झगडा परेपछि मर्छु भनी हिँडेकी उनले काभ्रेको बनेपामा २५ गते आत्महत्या गरिन् ।
कान्छारामले निरकुमार मल्ललाई पहिल्यै चिनेका थिए । कान्छारामलाई मृतक पत्नीको नाममा बैदेशिक रोजगार प्रबद्र्धन बोर्ड र बीमा कम्पनीबाट रकम निकाल्ने जुक्ति पनि निरकुमारले नै सिकाए । त्यसक्रममा नासु अधिकारीसँग कान्छामानको भेट भयो । निरकुमारचाहिँ पहिल्यैदेखि अधिकारीसँग निकट थिए, प्रहरीले भनाई छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको आफन्तले मृत्यु भएको एक वर्षभित्र बीमा दावी गर्नुपर्छ । यो गिरोहले सोमा थिङको बीमा दावीका क्रममा २०८१ पुस १६ गते मृत्यु भएको सिफारिस गाउँपालिकाबाट गरायो । मृत्यु भइसकेकी सोमालाई मृत्युको मिति पछि विदेश गएको भनी अध्यागमनबाट कागज बनाइयो । श्रम अनुमति पनि नक्कली पेश गरियो ।
त्यसबेला अधिकारीले मृतकको परिवारलाई थाहा नदिई रकम हिनामिना गरेका थिए । उनी पक्राउ परेपछि सरकारी वकिलले मृतकका आफन्तलाई बोलाएर नासु अधिकारीसँग मिलापत्र गराएको थियोे ।
यो घटनामा नासु अधिकारी, कान्छाराम, निरकुमारसहित मोहन नेपाली, रामबहादुर तामाङ, रामबहादुर नेपाली पनि प्रहरी हिरासतमा छन् ।