सलिकोमा शेयर कन्भर्जन काण्ड छानबिनमा ढिलाई, सेटिङको आशंका

१७ असार २०८२, मंगलवार ११:१९

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तत्कालिन सगरमाथा जनरल इन्स्योरेन्स कम्पनी हालको सलिकोमा दुई बर्ष पहिले भएको संस्थापक शेयरधनीलाई सर्वसाधारण शेयरधनीमा रुपान्तरण गर्दा भएको घोटाला काण्ड छानबिन गर्न नियामक नेपाल बीमा प्राधिकरणले आनाकानी गरिरहेको भेटिएको छ । विगत पाँच महिनादेखि प्राधिकरणमा परेको एक उजुरी नै अलपत्र पारिएकोले थप आशंकाहरु जन्मिएका छन् ।

सलिकोभित्रको शेयर कन्भर्जनमा तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीकै मुख्य संलग्नता प्रो डाटा बेसिसमा तोकिएको २० प्रतिशत भन्दा बढि प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरी करोडौं रुपैयाँ घोटाला गरिएको थियो ।
सो काण्डबारे नेपाल बीमा प्राधिकरणमा २०८१।१०।१४ गते लिखित उजुरी नै परेको थियो । बीमा प्राधिकरणले उक्त उजुरी उपर छानविन नगरेको पाइएको छ । २०८० साल असार मसान्तमा घटाइएको सो घोटाला काण्डबारे २०८१ माघको दोस्रो साता बीमा प्राधिकरणमा लिखित उजुरी कहिले वल्लो कोठा त कहिले पल्लो कोठामा थन्किँदै आएको छ ।

तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीका एक शेयरधनीले बीमा प्राधिकरणभित्र समेत सलिकोले सेटिङ गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शेयर कन्भर्जनमा गरिएको घोटालामाथि छानविन गर्न कम्पनीभित्रै माग गर्दा समेत वेवास्ता गरिएको र बाहिर सत्यतथ्य कुरा दिन खोज्दा समेत अनुचित दवाव दिएर अप्ठेरो पार्ने गरेको बीमापोष्टको सम्पर्कमा आएका शेयरधनीले गुनासो गरे ।

सगरमाथा इन्स्योरेन्स कम्पनी नेपालमा स्थापना हुँदा स्वदेशी संस्थापक ६० प्रतिशत, विदेशी संस्थापक २० प्रतिशत र नेपाली सर्वसाधारणको हिस्सा २० प्रतिशत रहेको थियो । मिति २०७९।०३।३० गते सम्पन्न भएको कम्पनीको १८ औं बार्षिक साधारणसभाले विदेशी संस्थापक शेयरधनीको २० प्रतिशत यथावत नै राखी नेपाली संस्थापक शेयरधनीहरु मध्ये ६० प्रतिशतबाट ९ प्रतिशत घटाई ५१ प्रतिशत कायम गर्ने र उक्त ९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने भन्ने प्रस्ताव पारित भई सोही बमोजिम शेयर कन्भर्जन समेत गरिएको थियो । सो निर्णय अनुसार संस्थापक ७१ र सर्वसाधारण हिस्सा २९ प्रतिशत कायम थियो ।

पुनः कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा मर्जर सम्झौता भइसकेको अवस्थामा ७१ प्रतिशत संस्थापक शेयर हिस्सालाई ५१ प्रतिशत र २९ प्रतिशत सर्वसाधारण शेयरलाई ४९ प्रतिशत पुर्याउने निर्णय गरियो ।

बीमा प्राधिकरणले पनि मिति २०७९।१०।०७ मा पुनः समानुपातिक रेसियोमा ७१ प्रतिशत संस्थापक शेयर मध्ये श्रीलंकास्थित सेलिन्को इन्स्योरेन्स कम्पनीको २० प्रतिशत यथावत राखि बाँकी रहेको ५१ प्रतिशत संस्थापक शेयरलाई २० प्रतिशत सर्वसाधारण शेयरमा रुपान्तरण गर्न अनुमति दिएको थियो ।

तर, कम्पनीले मिति २०८०।०२।११ मा एक सूचना जारी गरी शेयरधनीहरुलाई आवेदनमार्फत शेयर रुपान्तरण गर्ने हो वा होइन भनि निवेदन माग गरियो । सो अनुपातमा निवेदन माग नभएको भनि केही संस्थापकहरुको शेयर रुपान्तरण गरिएन भने केही संस्थापकहरुको शेयर ३० प्रतिशत भन्दा बढि रुपान्तरण गरियो । यसबाट २० प्रतिशत मात्रै संस्थापक शेयर रुपान्तरण हुनुपर्नेमा थप शेयर रुपान्तरण भई त्यसको लाभ दोस्रो बजारबाट लिने काम भयो ।

बीमा प्राधिकरणले लिखित रुपमा दिएको निर्देशन पुनः समानुपातिक प्रणाली अनुसार शेयर कन्भर्जन गर्नु भन्ने व्यवस्था विपरित कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गरियो ।

उक्त कार्यबाट कम्पनीका केही सीमित संस्थापक शेयरधनीहरुले बम्पर घोटाला गरेका छन् । सलिकोको संस्थापक शेयर प्रतिकित्ता २७० रुपैयाँमा कारोबार भइरहेको थियो भने सर्वसाधारण समुहको शेयर ७२२ रुपैयाँसम्म पुगेको देखिन्छ । नियमाकीय निर्देशन विपरित २७० रुपैयाँमा बिक्री गर्न कठिन हुने लाखौं कित्ता शेयर ७२२ रुपैयाँ सम्म मूल्यमा बिक्री हुने सर्वसाधारण समुहमा रुपान्तरण गराए बापत राम्रै आर्थिक लाभ लिएको देखिन्छ ।

बीमा ऐन २०७९ को दफा १२९ मा बीमक कम्पनीभित्र हुने आर्थिक अनियमितता, घोटालाको छानविन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । त्यस्तै, दफा १३४ शेयरधनीको हितविरुद्ध कार्य गर्नेलाई कारवाही गर्ने व्यवस्था छ । तर, प्राधिकरणले आफ्नै ऐन समेत कार्यान्वयन गरेको छैन ।
सलिकोको शेयर कन्भर्जन घोटाला छानविन नगरिएको र उजुरी अलपत्र पारिएको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा नेपाल बीमा प्राधिकरणका प्रबक्ता तथा कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले कुनै प्रतिक्रिया जनाएनन् ।

 

सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत संस्थापक शेयर कन्भर्जनमा हेराफेरी, नियामकलाई ढाँटियो

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*