ऋणको दलदलमा अशोक स्टीलः व्यापारमा ३ अर्बको गिरावट, बजारमा घट्दै माग

काठमाडौँ । वर्षदिनमा अशोक स्टील इन्डस्ट्रिज प्रालिको आम्दानी ४६.१४ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको हो । जुन सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यवसाय ३ अर्ब ७ करोड ४० लाख रुपैयाँले कम हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (सन् २०२५) मा कम्पनीले १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो वर्ष पनि कम्पनीको आम्दानीमा तुलनात्मक कमी आउने देखिएको छ ।
गढीमाई नगरपालिका–१०, बारा जिल्लामा रहेको अशोक स्टिल विसं २०४० फागुन ११ गतेमा स्थापना भएको निजी कम्पनी हो । कम्पनीले टीएमटी बार उत्पादनका लागि १ लाख मेट्रिक टन प्रतिवर्षको क्षमता निर्माण गरे पनि हालको आर्थिक विवरणले कम्पनी गम्भीर आर्थिक दबावमा रहेको छ । कम्पनीले स्पञ्ज आइरन र फोहोर फलाम (स्क्र्याप आइरन) प्रयोग गरेर एमएस बिलेट पनि उत्पादन गर्दै आएको छ ।
उत्पादन खर्च कटौती गरेर मुनाफा प्रतिशत केही सुधारिए पनि त्यो स्थायी समाधान होइन । कम्पनीको ब्याज, कर, मूल्यह्रास र परिशोधन अघि मुनाफा (पीबीआईएलडीटी) मार्जिन सन् २०२२ मा ३.९१ प्रतिशत मात्र थियो, जुन २०२३ मा बढेर ५.०२ प्रतिशत र २०२३ मा ९.६९ प्रतिशत पुगेको छ । तर आम्दानी नै घटिरहेको अवस्थामा मार्जिनको सुधारले कम्पनीको वित्तीय रुपमा प्रभाव पार्दै आएको छ ।
कम्पनी ऋण दलदलमा फसेको देखिएको छ । सन् २०२२ मा कम्पनीको कुल ऋण स्वामित्व पुँजीको २५.४ गुणा थियो, जुन २०२३ मा घटेर १९.०३ गुणा र २०२४ मा १७.०३ गुणा पुगेको देखिन्छ । यद्यपि ऋणको अनुपातमा केहि गिरावट देखिए पनि यो अझै अत्यधिक नै छ । कुनै पनि उद्योगले २ देखि ३ गुणाभन्दा धेरै ऋण लिएको अवस्था जोखिमपूर्ण मानिन्छ, तर अशोक स्टिलले झण्डै १७ गुणा बढी ऋण बोकेको देखिन्छ ।
यता, कम्पनी ऋण सेवा क्षमता पनि निराशाजनक छ । कम्पनीको ब्याज भुक्तानी गर्ने क्षमता (इन्ट्रेस्ट कभरेज अनुपात) सन् २०२२ मा १.३८ गुणा थियो, जुन क्रमशः घटेर २०२३ मा १.२१ गुणा र २०२४ मा १.१४ गुणामा झरेको छ ।
कम्पनीको तत्कालीन तरलता अवस्था पनि सुधार भएको देखिए तापनि त्यो सन्तोषजनक मान्न सकिने स्तरमा छैन। हालको अनुपात (कर्रेन्ट रेसियो) २०२२ मा ०.८७ गुणा थियो, जुन २०२३ मा झरेर ०.८३ गुणा पुगेको थियो । २०२४ मा भने १.०६ गुणामा पुगेको देखिन्छ ।
उत्पादन लागत बढ्नु, बजारमा प्रतिस्पर्धा तीव्र हुनु र कार्यशील पूँजीको अभाव हुनु कम्पनीलाई अझ संकटमा पारेको छ ।
तीन दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पुनमचन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् ।
कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि बी प्लस रेटिङ प्रदान गरेको छ । साथै, १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ दीर्घकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ ।
पछिल्लो समय ग्राहकको कम्पनीले उत्पादन गरेको सामग्रीप्रति बजारमा आकर्षण कम देखिनुका साथै पुराना ग्राहकहरू समेत विकल्प खोज्न थालेका छन्। बजारको मागअनुसार उत्पादन रणनीति तय गर्न नसक्नु, वितरण सञ्जाल सुदृढ नहुनु र ग्राहक सेवा कमजोर हुनुले कम्पनीप्रति विश्वास घट्दै गएको छ। उद्योगमा बढ्दो प्रतिस्पर्धा सामाना गर्न अशोक स्टिल असमर्थ देखिएको छ। साना–ठूला धेरै उत्पादनकर्ता सक्रिय रहेको यस क्षेत्रमा मूल्य, गुणस्तर र समयमै सेवा पुर्याउने क्षमतामा कमजोरी देखिँदा कम्पनी पछाडि परेको हो। प्रतिस्पर्धी कम्पनीहरूले नयाँ प्रविधि, लागत कटौती र आक्रामक बजार रणनीति अपनाइरहेका बेला अशोक स्टिल पुरानो ढर्रामा अड्किएको देखिन्छ। यसले गर्दा कम्पनी बजारमा आफ्नो स्थान जोगाउन संघर्षरत छ।