सिद्धार्थ बैंकको ‘एसबिएल डिबेन्चर २०९१’ असार २९ गते निष्कासनमा आउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही असार २९ गतेदेखि १० वर्ष अवधि तथा वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबिएल डिबेन्चर २०९१’ सार्वजनिक निष्कासनमा ल्याउने भएको छ।
बैंकले प्रति डिबेन्चर १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता डिबेन्चर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। बैंकले तीमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
यसरी बाँकी रहेको १० लाख कित्ता डिबेन्चरमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ९ लाख ५० हजार कित्ता डिबेन्चर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा २५ कित्ताका लागि र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
निष्कासन बन्द छिटोमा असार ३२ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा भने साउन ११ गतेसम्म आवेदन अवधि लम्बिनेछ।
यसमा बालुवाटारस्थित बिक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकको नक्सालस्थित केन्द्रीय कार्यालयका साथै बोर्डबाट सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर अनलाईबाट पनि आवेदन दिन सकिनेछ।