१५ स्टील उद्योगको व्यापारमा २१ अर्बको गिरावट, ११ कम्पनी अझै अर्ब क्लबमा, कुनको आम्दानी कति?

२० असार २०८२, शुक्रबार ११:५८

काठमाडौं । देशको भौतिक पूर्वाधार विकास सुस्त भएपछि स्टील डण्डी उद्योगको व्यापार एक वर्षमै २१.३४ प्रतिशतले घटेको छ । पूर्वाधार निर्माणको माग घट्दै जाँदा स्टीलजन्य वस्तुको बिक्रीमा गिरावट आएको हो । तर पछिल्लो समय लगानीयोग्य वातावरण तयार भइरहेको र विद्युत आपूर्ति सहज भएपछि उद्योग फेरि विस्तारको बाटोतर्फ फर्किने अपेक्षा गरिएको छ ।

रेटिङ एजेन्सीका अनुसार सन् २०२४ मा १५ वटा ठूला स्टील उद्योगहरुले ७८ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्, जुन सन् २०२३ को ९९ अर्ब २५ करोड ८० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशतले कम हो । व्यापार घट्नुको प्रमुख कारण भने पूर्वाधार निर्माणको गति सुस्त हुनु, निजी आवास निर्माण घट्नु तथा लागत बढे पनि मूल्य प्रतिस्पर्धा गर्नु परेको व्यवसायीहरुको भनाइ छ ।

यी कम्पनीहरुमा जगदम्बा स्टील, लक्ष्मी स्टील, गोदावरी स्टील, पञ्चकन्या स्टील, विजय स्टील, श्री स्टील, प्रिमियर स्टील, अशोक स्टील, मैनादेवी स्टील, नारायणी स्टील, स्टीलवुड, श्रीकृष्ण स्टील, मालिका स्टील, गोयन्का स्टील र सिद्धी लक्ष्मी स्टील छन् । यी कम्पनीहरुले डण्डी, स्टील पाइप, तार, जस्तापाता लगायतका वस्तु उत्पादन गर्छन् । विगतमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र भौतिक संरचना विस्तारका कारण स्टील उत्पादन उद्योगले उच्च व्यापार गरे पनि पछिल्ला वर्षमा त्यस्तो वातावरण कायम रहन सकेको छैन ।

त्यसका साथै, उद्योगीहरु निरन्तर लोडसेडिङको समस्याबाट पीडित बनेका थिए, जसले उत्पादन लागत बढाएको थियो । नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच लोडसेडिङको विषयमा पछिल्ला महिनामा विवाद चर्किँदै गएको थियो । तर, कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएपछि, निजी क्षेत्रका उद्योगहरुले आफूहरुले लामो समयदेखि भोग्दै आएको विद्युतीय समस्याबाट राहत पाएको महसुस गर्न थालेका छन् ।

लोडसेडिङ अन्त्य हुनु र बिजुली नियमित आपूर्ति हुनुले उद्योग पुनः उत्पादनको लयमा फर्किने संकेत देखिएको छ । त्यसका साथै, विद्युत्को सहज आपूर्तिका कारण केही महिनायता स्टीलको मूल्यसमेत घटेको छ । बजार स्थिर भएमा र निर्माण क्षेत्रको माग पुनः बढेमा आगामी वर्षहरुमा स्टील उद्योगको कारोबार फेरि वृद्धि हुने अनुमान व्यवसायीहरुले गरेका छन् । साथै, सरकारद्वारा योजनाबद्ध पूर्वाधार परियोजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन भएमा उद्योगको दीर्घकालीन वृद्धिमा सकारात्मक प्रभाव पर्नेछ ।

कुनको व्यापार कति ?
१५ कम्पनीमध्ये जगदम्बा स्टील नाफामा अग्र स्थानमा रहेको छ । सन् २०२४ मा जगदम्बाले मात्रै २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त व्यापार सन् २०२३ को तुलनामा भने २४.६१ प्रतिशतले कम हो । सन् २०२३ मा कम्पनीले ३९ अर्ब ४३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

रकम दशलाखमा

त्यस्तै, दोस्रो नम्बरमा लक्ष्मी स्टीलको व्यापार ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन सन् २०२३ को तुुलनामा भने १४.७३ प्र्रतिशतले कम हो । सन् २०२३ मा भने कम्पनीले ९ अर्ब ४४ करोड रुपैैयाँ नाफा कमाएको थियो ।

यता, तेस्रो नम्बरमा रहेको गोदावरी स्टीलको व्यापार १.६७ प्रतिशतले बढेर ६ अर्ब ४० करोड, चौथो नम्बरमा रहेको पन्चकन्या स्टीलको २५ प्रतिशतले घटेर ५ अर्र्ब ८४ करोड, छैटो नम्बरमा रहेको श्री स्टीलको २८.९० प्रतिशतले घटेर ५ अर्ब ९० लाख, विजयश्री स्टीलको ५७ प्रतिशतले बढेर ५ अर्ब ६१ करोेड, अशाोक स्टीलकोे ४६ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड, प्रिमियर स्टीलको १२.१५ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड र मैनावती स्टीलको ४६ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*