सिराहामा लघुवित्त शाखामाथि हिंसात्मक हमलाः कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड

बैंकर्स संघको कडा प्रतिवाद
२० असार २०८२, शुक्रबार १२:२८

काठमाडौं । सिराहाको सितापुरस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा भएको तोडफोड, हातपात र धम्कीपूर्ण घटनापछि नेपाल लघुवित्त बैंकर्स संघले कडा आपत्ति जनाएको छ । संघले सार्वजनिक विज्ञप्ति जारी गर्दै सो घटनालाई अराजक, गैरकानुनी र नियोजित हमला भएको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

असार १५ गते आइतबारको दिन ‘संघर्ष समिति’को नाममा करिब ५०–६० जनाको समूह शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीलाई हातपात गर्दै कार्यालयमा ताला लगाएको थियो । अर्को दिन असार १६ गते स्थानीय वडाध्यक्ष र प्रहरीको रोहबरमा ताला खोलेर कार्यालय सञ्चालनमा ल्याइएको थियो । तर, असार १७ गते पुनः करिब २/३ सयको भीड शाखा कार्यालयमा पुगेर कर्मचारीलाई ज्यान मार्ने धम्की दिँदै ढुंगामुढा गरेको, झ्याल ढोका तोडफोड गरेको, साइन बोर्ड च्यातिएको र सुरक्षाका लागि खटिएका प्रहरीमाथिसमेत ढुंगामुढा गरिएको विवरण संघले सार्वजनिक गरेको छ । यस क्रममा प्रहरीले हवाई फायर र अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो भने २ जना पुरुष र ४ जना महिलालाई नियन्त्रणमा लिएको थियो । तर, भोलिपल्ट सामान्य सहमतिमा उनीहरूलाई छाडिएपछि शाखा कार्यालयमा त्रासको वातावरण अझ बढेको संघले जनाएको छ ।

विज्ञप्तिमा लघुवित्त संस्थाहरू नेपालको सरकार तथा नेपाल राष्ट्र बैंकको ऐन, नियम, कानून तथा निर्देशनको दायराभित्र रही सञ्चालनमा रहेको र आम नागरिकबाट संकलित बचत तथा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा स्रोतद्वारा दुर्गम भेगका लाखौं विपन्न परिवारलाई घर दैलोमै सेवा पुर्‍याउँदै आएको स्पष्ट पारिएको छ । यस्ता संस्थामाथि नियोजित रूपमा आक्रमण गर्नु विपन्न समुदायलाई वित्तीय पहुँचबाट बञ्चित गर्नु सरह भएको संघको भनाइ छ ।

संघले यस्ता अराजक गतिविधि तत्काल नियन्त्रण गर्न र दोषीलाई कानुनी कारबाही गर्न राज्यका सम्बन्धित निकायलाई जोडदार माग गरेको छ । साथै, अत्यावश्यक सेवा अन्तर्गत पर्ने वित्तीय सेवा नियमित रूपमा सञ्चालन गर्न अनुकूल वातावरण बनाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सरोकारवाला निकायसँग हार्दिक आग्रह गरिएको छ ।

लघुवित्त संस्थाहरू ग्राहकसँग सुमधुर सम्बन्ध कायम राख्दै ग्राहक संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेर सेवा दिँदै आएको र आगामी दिनमा पनि कुनै अवाञ्छित घटनाबाट विचलित नभई सेवा निरन्तरता दिने प्रतिवद्धता संघले दोहोर्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*