पोखरा नुडल्सको बेइमानीः हटपटमा विषादीयुक्त व्यापार, लाखौं ग्राहकको स्वास्थ्यमा खतरा

२० असार २०८२, शुक्रबार १६:०५

काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुका रूपमा बिक्री हुँदै आएको हटपट नामको चाउचाउ गुणस्तरहीन रहेको खुलासा भएको छ । पोखरा नुडल्स प्रालिले उत्पादन गर्दै आएको उक्त चाउचाउ एक महिनामै ३० हजारभन्दा बढी कार्टन बिक्री हुने गरेको पाइएको छ । तर, यति धेरै मात्रामा बिक्री हुँदै आएको उक्त चाउचाउ गुणस्तर मापदण्ड विपरीत रहेको पुष्टि भएपछि उपभोक्ता झनै त्रसित बनेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमन र प्रयोगशाला परीक्षणपछि हटपट चाउचाउको गुणस्तर कमजोर भएको पुष्टि भएको हो ।  पोखरा नुडल्स प्रालि विगतदेखि नै गुणस्तरहीन खाद्य उत्पादनमा संलग्न रहँदै आएको पाइएको छ । केही वर्षअगाडि पनि यस्तै दूषित खाद्य उत्पादन गरेको आरोपमा कम्पनीमाथि मुद्दा दायर भएको थियो । तर, त्यतिबेला पनि कम्पनी शक्तिशाली समूहको संरक्षणमा सजिलै उम्किएको थियो । यसपटक पनि विभागले परीक्षणमा दोष देखिएको ब्याच नम्बर सार्वजनिक गरे पनि कम्पनीमाथि के कस्तो कारबाही हुने भन्नेबारे अझै खुलाइएको छैन । यसले अझै पनि कम्पनीका गलत क्रियाकलापलाई राज्य संयन्त्रबाट मौन समर्थन भएको सन्देश दिएको छ ।

पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने हटपट चाउचाउको ब्याच नम्बर १२७ यु २ को उत्पादनमा न्यूनस्तरको खाद्य पदार्थ पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यस्तै रिजाल फुड एण्ड वेभरेज प्रालि चितवनले उत्पादन गर्ने रङ्गिला दालमोठको ब्याच नम्बर जी ०७ को दालमोठ पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।

तर, यिनै बालबालिकालाई लक्ष्य बनाएर बिक्री गरिएका खाद्य वस्तुमा न्यून गुणस्तर देखिनु चिन्ताको विषय हो । उपयुक्त गुणस्तरको न्यूनतम मापदण्ड समेत नपुगेको पाइएपछि विभागले ती उत्पादन तत्काल बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ । खाद्य निरीक्षक नवराज आचार्यका अनुसार बजारबाट संकलन गरिएका खाद्य नमुनालाई राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गराउँदा यी खाद्यवस्तु उपभोगका लागि अयोग्य देखिएका हुन् ।

पोखरा नुडल्स प्रालिको इतिहास नै गुणस्तरहीनतासँग गाँसिएको देखिन्छ । बजार विस्तार र आकर्षक विज्ञापनका नाममा उपभोक्ताको विश्वासमा खेलवाड गर्दै कम्पनीले झन झन निम्न गुणस्तरको खाद्य उत्पादनलाई सामान्य बनाइदिएको छ । जबकी यी चाउचाउ र दालमोठ जस्ता खाद्य सामग्री प्रत्यक्ष बालबालिकाको स्वास्थ्यसँग जोडिएको हुन्छ । सानो उमेरमै बालबालिकाले दूषित वा मिलावटयुक्त खाद्य वस्तु उपभोग गर्दा दीर्घकालीन असर पर्न सक्छ । कुपोषण, पेटसम्बन्धी समस्या, एलर्जी, र अन्ततः ज्यानसमेत जोखिममा पार्ने खाद्य विषाक्तता उत्पन्न हुने जोखिम कायमै रहन्छ ।

तर, कम्पनीले कहिल्यै यी जोखिमलाई गम्भीरतापूर्वक लिन सकेको देखिँदैन । उल्टै पहिलेको गल्तीलाई सुधार गर्नुको सट्टा पुनः त्यही बाटो दोहोर्याउँदै उपभोक्तालाई झुक्याउने काम गरिरहेको छ । पछिल्लो पटक सार्वजनिक भएको ब्याच मात्र कम्पनीको एक प्रतिनिधि अनुहार हो । अझ बजारमा रहेका अन्य धेरै ब्याचका उत्पादनहरू पनि यस्तै समस्याग्रस्त हुन सक्ने आशंका गरिएको छ । विभागले परीक्षण नगरेका अन्य उत्पादन पनि गुणस्तर मापन बिना बजारमा सर्वसुलभ रूपमा वितरण भइरहेका छन् । यस्तो अवस्थामा बालबालिकाको ज्यानमाथि नै कम्पनीले खेलवाड गरिरहेको स्पष्ट देखिन्छ ।

उपभोक्ता अधिकारकर्मीहरू भन्छन्, ‘साना बालबालिकालाई खुवाइने खाद्य पदार्थमै यस्तो घटिया काम हुँदा पनि सम्बन्धित कम्पनीमाथि सरकारले कडा कारबाही गर्न नसक्नु गम्भीर अपराध हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*