राष्ट्र बैंकले निर्माण व्यवसायीलाई डुङ्गामा लगेर नदिको भुमरीमा छोडी दियोः अध्यक्ष सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका सन्दर्भमा गम्भीर टिप्पणी गरेका छन् । उनले राष्ट्र बैंकले निर्माण व्यवसायीहरुलाई नीति निर्माणमा सहजीकरण गर्नुपर्नेमा उल्टै ‘डुङ्गामा चढाएर नदिको भुमरीमा छोडिदिएको’ आरोप लगाएका हुन् ।
उनका अनुसार निर्माण व्यवसायीहरुले असोजसम्म ऋण तिर्ने समय माग गरेको भए पनि राष्ट्र बैंकले सरकारसँग समन्वय गरी मंसिरसम्मको समय त दियो, तर पुषपछि त्यो निरन्तरता पाएको छैन । ‘फेरी पनि हामीले हारगुहार गरेर सम्बोधन गर्नु भएको छ’ उनले गुनासो गरे ।
उनले राष्ट्र बैंकसँग १ अर्ब रुपैयाँ भुक्तानी सम्बन्धी कामसमेत अहिलेसम्म अघि नबढेको भन्दै प्रश्न उठाए । ‘राष्ट्र बैंक र नेपाल सरकारले मिलेर कति आयोजना सम्पन्न गर्ने हो, त्यस अनुसार पर्ने आर्थिक दायित्व पुरा गर्नु राष्ट्र बैंकको जिम्मेवारी हो’ सिंहले भने । उनले आवश्यक योजना प्राथमिकता नपाएको खण्डमा त्यस्ता योजनाहरु खारेज गर्नसमेत सुझाव दिए ।
सिंहका अनुसार आम जनताको बैंकमा जम्मा भएको ठुलो हिस्सा निर्माण उद्योगीहरुले ऋणको रुपमा लिएका छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले नीतिगत सुधार गर्दै उद्योगीहरुप्रति जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
‘निर्माण व्यवसायीले जानीजानी गल्ती गरेको हो भने कारबाही हुनु पर्छ’ अध्यक्ष सिंहले भने, ‘तर बाध्यताका कारण ब्याज र सावा बुझाउन नसकेको अवस्था भए राष्ट्र बैंकले त्यस्ता ऋणीहरूलाई सहजीकरणका लागि निश्चित नीति बनाउनुपर्छ ।’