अम्बे–कोशी सहकारीका ३०८ साना बचतकर्तालाई रकम फिर्ता

२ बैशाख २०८३, बुधबार १३:१५

काठमाडौँ ।  कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थामा आबद्ध साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोही अभियानअन्तर्गत सुनसरीको इटहरीमा मुख्यालय रहेको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका ३०८ जना बचतकर्तालाई जनही २० हजार रुपैयाँसम्म रकम फिर्ता गरिएको छ ।

प्रदेश सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि २०८१ मंसिरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो । सोही समितिमार्फत साना बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणको भुक्तानी गरिएको हो ।

समितिका अध्यक्ष थापाका अनुसार हालसम्म २० हजार रुपैयाँसम्म बचत गरेका ३०८ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । उनले साना बचतकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।

उक्त सहकारीमा कुल ९ हजार ५५९ जना सेयर सदस्य रहेका छन् भने करिब ४ करोड ४७ लाख रुपैयाँभन्दा बढी सेयर पूँजी रहेको तथ्यांक छ ।

समितिका सदस्य जीवन काफ्लेका अनुसार सहकारीको कुल बचत दायित्व ४२ करोड ६० लाख ९८ हजार रुपैयाँभन्दा बढी रहेको छ । हालसम्म १ हजार १७३ जनाले मात्र २४ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी पेस गरेको समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*