कलंकी मालपोतबाट छ जना लेखापढी व्यवसायी पक्राउ, आजैदेखि आन्दोलनको घोषणा

काठमाडौं । कानुन बमोजिम आफ्नो पेशागत काम गर्दै आएका लेखापढी व्यवसायीहरू पक्राउ पर्न थालेपछि विरोधस्वरूप आन्दोलन सुरु भएको छ । अदालतबाट अनुमति लिएर अड्डा अदालत तथा अर्धन्यायिक निकायमा काम गर्दै आएका व्यवसायीमाथि नै धरपकड भएपछि उनीहरूले पेनडाउन आन्दोलनको घोषणा गरेका हुन् ।
कलंकीस्थित मालपोत कार्यालयबाट आज बिहान ११ बजे छ जना लेखापढी व्यवसायी पक्राउ परेपछि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति कलंकीले तत्काल आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएको छ । सम्बन्धित कानुन र नियमावलीअनुसार अनुमति प्राप्त व्यवसायीलाई पक्राउ गर्नु अदालतले दिएको प्रमाणपत्रको अपमान भएको इकाई समितिले ठहर गरिएको छ ।
एसोसिएसनले जारी गरेको सूचनामा नेपाल कानून व्यवसायी परिषद ऐन २०५० तथा लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ बमोजिम अनुमति प्राप्त व्यवसायीमाथि गरिएको कारबाही गैरकानुनी भएको दाबी गरिएको छ । साथै, मालपोत नियमावली २०३६ र भूमि प्रशासन निर्देशिका २०८२ अनुसार सञ्चालनमा रहेका भु–सेवा केन्द्र सञ्चालकसमेत प्रभावित भएको उल्लेख गरिएको छ ।
यस्तै, पक्राउ परेका सदस्यहरूको रिहाइ नभएसम्म र पेशागत हक अधिकारको प्रत्याभूति नहुँदासम्म लेखापढी सेवा तथा भु–सेवा केन्द्र बन्द गर्ने निर्णय गरिएको एसोसिएसनले जनाएको छ । आजैका मितिदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवा बन्द गर्न सदस्यहरूलाई आह्वान गरिएको छ ।
एसोसिएसनले आन्दोलन अवधिभर कुनै सदस्यले निर्णय अवज्ञा गरी सेवा सञ्चालन गरेमा त्यसको जिम्मेवारी स्वयंले लिनुपर्ने चेतावनी दिएको छ । सेवा बन्दबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति एसोसिएसनले क्षमायाचना समेत गरेको छ ।












